राष्ट्र हितमा समर्पित
BMP Infology
सोमवार, आश्विन ६, २०७६

लिपुलेकमा चीनले गरेको गल्ती सच्याइनुपर्छ: फणीन्द्र नेपाल

सोमवार, २३ भाद्र २०७६ १३:३६

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले चीनले लिपुलेकमा गरेको गल्तीलाई सच्चाउन आग्रह गरेका छन् ।

लिपुलेकमा नेपाल–चीन सिमाना छुट्ट्याउने स्तम्भ रहेको स्थान नेपाल, भारत र चीनबिचको त्रिदेशीय विन्दु हो भन्ने स्थापित हुनै नसक्ने अवस्थामा लिपुलेकमाथि चीन र भारतले अन्यथा निर्णय गर्नु घोर आपत्तिजनक भएको मोर्चाको ठहर छ ।

चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको दोस्रो दिन आज नेपाल र चीनका विदेश मन्त्रीबिच द्विपक्षीय हितका विषयमा औपचारिक वार्ता हुने कुरा प्रकाशमा आएपछि नेपालले लिपुलेकका विषयमा ध्यानाकर्षण गराएका छन् ।

नेपालले देशका विदेशमन्त्रीहरूको ध्यान सन् २०१५ को मे १५ को दिन बेजिङमा चीन र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तितर्फ आकृष्ट गर्दै नेपालको लिपुलेकलाई चीन र भारतबिचको अन्तराष्ट्रिय व्यापार नाका बनाउने उल्लेख गरी नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि अतिक्रमण र हस्तक्षेप गरिएको बताएका छन् ।

विज्ञप्तिमा नेपालको सहमति र अनुमतिविना गरिएको त्यो निर्णयको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा घोर भत्सर्ना गर्दै चीनका विदेशमन्त्रीले लिपुलेक प्रकरणमा भएको गल्ती चीनका पक्षबाट सच्याउने सार्वजनिक वचनबद्धताका साथ गर्नुहुनेछ भन्ने अपेक्षा गरेको बताईएको छ ।

नेपाल, चीन र भारतबिचको त्रिदेशीय विन्दु लिम्पियाधुरा हो भन्ने जान्दाजान्दै चीन र भारतले लिपुलोकको कुमारीत्व भङ्ग गर्ने चेष्टा गर्नु नेपाल र नेपालीका निम्ति सह्य हुने बताउदै मोर्चाले नेपालका परराष्ट्रमन्त्रीलाई समेत आफ्ना समकक्षीसँगको वार्तामा लिपुलेकको एजेन्डा उठाउन आग्रह समेत गरेका छन् ।

थप जानकारी