राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख ६, २०८१

१३ वर्षको ‘छाडातन्त्र’को विकल्प के ?

सोमवार, २३ भाद्र २०७६ १८:३५

कर्णप्रखर धिताल

१.देशको परिस्थितिबारे सतहको अध्ययनले मात्र भन्दछ कि गणतन्त्र आफ्नो अवसान कथाका अन्तिम हरफहरु लेख्दैछ । मुलुकलाई सिंगापुर  र स्वीट्जरल्याण्ड बनाउने शीर्ष गाथाबाट आरम्भ भएको गणतन्त्रको यात्रा टुकुचामा डुबेर समाप्त हुने पीरले सत्तारुढ डबल नेकपाका प्रमुख नेताहरुमा चढेको सन्निपातका अनेक अभिव्यक्तिहरु अनेक खबरहरुमा पसारिन थालेका छन् । अहिले जसले गणतन्त्रको मृत्युको कथा आजै सुन्नुपर्ला भन्ने कल्पना पनि गरेको थिएन, त्यो जनताले समेत गणतन्त्रको गरुड पुरान सुन्नुपर्ने तिथिमितिको खोजी गर्न थालेको छ । सत्ताको ढिठ्याँइ अरु सबै ढिठ्याँइभन्दा बढी हुन्छ । त्यसका छौंडाहरु झन् बढी ढिठ हुन्छन् । अन्यथा आम नेपाली जनता दैलादैलामा कात्रो बोकेर खडा छन्, गणतन्त्र कहिले ढल्छ र चाँडै ओढाउँला भनेर ।

२. महाभारत ग्रन्थमा दुईवटा चरित्र छन् । ती दुई चरित्रलाई चित्रण गर्दा यो परिस्थितिको निर्माणको संक्षिप्त कथा बन्दछ । पहिलो हो सकुनी । स्वयं गान्धारको राजा भएर पनि सकुनी कौरव र पाण्डवहरुमा विभाजन ल्याएर कुरुकूलको संस्कृति विपरीत राजप्रतिनिधि धृतराष्ट्रका छोरा अर्थात् आफ्नो भानिज दुर्याेधनलाई राजा बनाउन भनेर जीवनभर वैभवशाली हस्तिनापुर दरबारमा बस्यो । उसलाई हस्तिनापुरको संस्कार, संस्कृति, सभ्यता परम्परा केही कुरासँग मतलब थिएन, बस आफ्नो भानिज दुर्याेधन धृतराष्ट्रपछिको राजा बनोस् । दुर्याेधन राजा बनेमा अत्यन्त विशाल हस्तिनापुरको भोगविलासमा रम्न पाउने सपना थियो होला सकुनीको । त्यस निम्ति उसैले नै धृतराष्ट्र र दुर्याेधनभित्र यति धेरै महत्वाकांक्षा भरिदियो कि उनीहरुकै अविवेकले महाभारत युद्ध अनिवार्य गरायो ।

दोस्रो हो शल्य । महाभारतमा शल्य मद्र देशका राजा हुन् । नकुल र सहदेवका आफ्नै मामा । अर्थात् पाण्डवहरुका मामा । महाभारतको युद्ध हुने भएपछि उनी आफ्ना भानिजहरुको तर्फबाट अर्थात पाण्डवहरुको तर्फबाट युद्ध लड्न भनेर आफ्नो सेना लिएर कुरुक्षेत्रतिर हिंडे । धेरै दिनको बाटो हिंडेपछि मात्र कुरुक्षेत्र पुगिन्थ्यो । दुर्याेधनका सल्लाहकार मामा सकुनीले शल्य र उनको फौज मीठो खाना खान पाएमा रमाउँछ तिमीले त्यो बन्दोबस्त मिलाऊ भनेर सल्लाह दिएका कारण दुर्याेधनले त्यसै गर्याे । शल्य र उनको फौज दुर्याेधनले आयोजना गरेको भोगविलासमा रमाउँदै अन्तत्वगत्वा कौरव सेनामा मिसियो र कौरवकै तर्फबाट पाण्डवहरुका विरुद्ध लडाइँमा उत्रियो ।

३. हाम्रो गणतन्त्रको कथासारका दुई आधार पनि यस्तै दुई चरित्र हुन् । ०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे नामको जुन महाभारतको षडयन्त्र रचियो त्यसमा एउटा हैन सकुनीको रुपमा अनेकौं विदेशीहरु बसे । कांग्रेस, एमाले र माओवादी नामका दुर्याेधनहरु विभिन्न स्वार्थ बोकेका सकुनीहरुको सल्लाहमा मुग्ध बने । गिरिजाप्रसाद कोइरालालाई जुनसुकै मूल्यमा पनि प्रधानमन्त्री बन्नु थियो । उनी सत्ता नभएर बाँच्न नसक्ने मान्छे । माओवादीलाई जनयुद्धको जीतको गाथा गाउनु थियो । एमाले धमिलो पानीमा माछा मार्न सिपालु थियो, उसका लागि सत्तासम्मको सहज यात्रा यो भन्दा अरु हुन सक्दैनथ्यो । अरु छोटे दलहरुको नामको आवश्यकता नै परेन, जुनसुकै कारणबाट भए पनि २–४ महिना सही मन्त्री बन्न पाए पुग्थ्यो ।

सकुनीहरुका भित्री षडयन्त्रहरु आफैभित्र थिए । भारतीयहरु र पश्चिमाहरु नेपाल ध्वस्त भएको हेर्न चाहन्थे । त्यसैले गणतन्त्र, धर्म्निरपेक्षता र संघीयताजस्ता उनीहरुका निहित स्वार्थ सिद्धिका लागि अनेकौं आइएनजीओ र एनजीओहरु थिए, जो हामी ‘शल्यका फौज’को विवेक अति सानो मूल्यमा खरिद गर्न सक्दथे ।

अन्ततः त्यही भयो, जुन हाम्रो देशमा हुनुहुँदैनथ्यो । आफैले बनाएको, बनाएको मात्र होइन उत्कृष्ट भनेको संविधानबाट दलहरु भागे र छोटो बाटोबाट सत्तामा पुग्नका लागि सकुनीहरुका मोहरा बने । साथमा हामी शल्यका फौज थियौं नै, हाम्रो न कुनै बुद्धि थियो न कुनै विवेक । दुर्याेधनहरुले इन्तजाम गरिदिएको एक दुई छाक मासुभात वा एक–एक वटा पाँच सय रुपैयाँ नोटका लागि हामीले हाम्रै घरमा आगो लगाइदियौं । हामीलाई भनिएको पनि थियो ‘हामी सिंगापुर बनाइदिन्छौं, स्वीट्जरल्याण्ड बनाइदिन्छौं’ भनेर ।

४. तर आज १३ वर्ष पछि हामी कहाँ छौं ? आज एउटा व्यक्ति, परिवार, समाज मात्र हैन सम्पूर्ण देश इतिहासकै सबैभन्दा गम्भीर अवसादमा छ । देशको कुनै पनि क्षेत्र कृषि, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य आदि कहीं पनि सन्तोषको श्वास फेर्ने ठाउँ छैन । हामी कुन अवस्थामा छौं भने देशको सबैभन्दा ऊर्जावानपंक्ति, युवापंक्ति ६० लाखभन्दा बढी विदेशमा छ । यो भारतमा रहेका चौकीदार, दरवान र मेहत्तरहरुबाहेकको संख्या हो । यो तथ्यांकबाट नै बुझ्न सकिन्छ कि देशले विकासका लागि सिन्कोसमेत भाँचिरहेको छैन । के कसैले भन्न सक्छ कि मेरो दाजु, भाइ, छोरा, भतिजा कसैले केरुङबाट आउने रेलमलार्गका लागि काम गरिरहेको छ भनेर ? वा समुद्रसम्म पुग्ने पानीजहाजका लागि काम गरिरहेको छ भनेर ? अथवा घरघरका चुल्हासम्म पुग्ने ग्यास पाइपका लागि काम गरिरहेको छ भनेर ? जसको मुखबाट निस्किएको भए पनि यो त सकुनीहरुको त्यो भाषा थियो, जसले हामी नेपाली जनतालाई मूर्ख बनाएर हाम्रो देश बर्बाद गर्न चाहन्थे ।

देश आफ्नो जीवनको हरेक तथ्यांकमा पछि परेको छ । सबैभन्दा डरलाग्दो खेल भ्रष्टाचारमा भएको छ । ०६२÷६३ को परिवर्तनलगत्तै कृष्ण सिटौलाको मन्त्रालयमा भएको सुडान डार्फरकाण्डदेखि स्वर्गीय मन्त्री रविन्द्र अधिकारीको ‘वाइडबडी’ विमान खरिद प्रकरणसम्म खर्बाै रुपैयाँको भ्रष्टाचार भएको छ भन्ने कुरामा नेपाली जनतालाई अब कुनै शंका छैन । भ्रष्टाचारको मामिलामा राज्य आफै कति गैरजिम्मेवार छ भने एनसेलले तिर्नुपर्ने झण्डै ४० अरब बराबरको कर तिर्नुपरेन । त्यति डरलाग्दो निर्मला पन्त हत्या तथा बलात्कार काण्डमा दोषीले उन्मुक्ति पाएपछि देशबाट न्याय मरिसक्यो भन्ने निराशा सर्वत्र व्याप्त छ । दण्डहीनताको कुनै परिसीमा छैन ।

५. आज राज्यबाट अनेक कारणले प्रताडित नेपाली समाजले प्रश्न गरिरहेको छि कि देश सधैं यसरी नै चल्छ त ? शायद चल्दैन । शायद किन भनेको भने राजा शल्यको जस्तो चरित्र हामी नेपालीमा रहिरहँदासम्म यस्तैगरी नै चल्ने हो । तर जुन दिन एकछाक मासुभातका निम्ति एउटा जुनि नै बर्बाद गर्ने अविवेकबाट नेपाली जनतामाथि उठ्छ, त्यसैदिन सकुनीहरुले खडा गरेको भ्रमको साम्राज्यबाट दुर्याेधनहरुको स्वतः पतन हुन्छ । त्यसको सुरुआत भैसकेको छ । मानिसहरुले प्रत्येक घटनालाई स्वतन्त्र दृष्टिकोणले हेर्ने, बुझ्ने, विश्लेषण गर्ने र धारणा बनाउने चरित्रको विकास हुन थालेको छ । अनेक घटनामा सर्वसाधारण जनताको निष्पक्ष प्रतिक्रिया प्रकट हुन थालिसकेको छ । र, त्यस्तो प्रतिक्रियाका विरुद्ध सत्ताधारीहरु मात्र आक्रामक हुने वा दुस्प्रचारमा लाग्ने प्रवृत्तिले पनि जनता सचेत हुँदै जान थालेको सजिलै बुझ्न सकिन्छ । गुठीसम्बन्धी विधेयकको विरोधमा स्वतःस्फूर्तमा प्रकट भएको विरोध र सञ्चारकर्मी रवि लामिछानेमाथि षडयन्त्र गरियो, उनलाई थुनामा राखियो, रिहाइ गरियोस् भनी उठेको विशाल आवाज यसको ज्वलन्त उदाहरण हुन् । यी दुवै घटनामा सत्ताका विरुद्ध दृढतापूर्ण जनआक्रोश देखियो । जनतामा यसरी बढ्दै जान थालेको सचेतनाले समाजमा सकारात्मक परिवर्तन हुँदै जान थालेको छ । यो सकारात्मक परिवर्तनले मुलुकलाई एउटा दृढ प्रतिज्ञातिर आकर्षित गर्दैछ भन्ने पनि बुझ्न सकिन्छ ।

६. सिद्धान्त, विचार, नीति, नियम आदिका स्रोत देशको माटो र त्यो माटोमा रमाउने जनता नै हुन् । देशको माटो र त्यो माटोका मानिसहरुको सम्बन्धको संवेदनाले नै राष्ट्र बनाउने हो । त्यसैले राष्ट्रसँग भावना जोडिएको हुन्छ । गास, बास, कपास, स्वास्थ्य, शिक्षा आदि जस्ता मानिसका आधारभूत आवश्यकताको चिन्ता र चिन्तन राष्ट्रको नाममा गरिनुको कारण पनि यही हो । राष्ट्रवादको आधार पनि यही हो । मानिसको विवेकले आज खान लाउन पाउने कुराको चिन्तन मात्र गर्दैन अपितु आफ्नो उचित मानमर्यादाको पनि हेक्का राख्दछ । आफ्नो मात्र राख्दैन आफ्नो समुदायको मानमर्यादाको पनि हेक्का राख्दछ । समुदायले ओगटेको माटोको मानमर्यादाको पनि हेक्का राख्दछ । यसरी नै राष्ट्रियताको भावना विकसित हुने हो, यसरी नै राष्ट्रिय स्वाभिमानको भावनाको विकास हुने हो, यसरी नै सार्वभौमिकताको आवश्यकता र त्यसको खोजी हुने हो ।

७. १२ बुँदे दिल्ली सम्झौताले नेपाली जनतासँग लुटेको कुरा पनि यही थियो । दुर्याेधनहरुलाई सत्ता सुम्पिदिएर सकुनीहरुले द्रौपदीको चिरहरण गर्ने जुन अवसर मिलाए, त्यो नेपालको इतिहासमा सबैभन्दा कलंकित कालखण्ड बन्ने निश्चित छ । सकुनीको भूमिकामा रहेका विदेशी शक्तिहरुले दलहरुरुपी दुर्याेधनको घोडा चढेर राष्ट्रको मर्मस्थलमै प्रहार गर्न सफल भएकोले हामीले इतिहासको यो सबभन्दा दुर्भाग्यपूर्ण कालखण्ड व्यहोर्नुपर्याे । हाम्रा ती मर्मस्थल भनेका राजगद्दी समेत त्याग्न सक्ने तर राष्ट्रको हित त्याग्न नसक्ने राजसंस्था, बसुधालाई नै कुटुम्ब मान्ने हाम्रो हिन्दू धर्म र त्यससँग जोडिएको अखण्ड नेपालको परम्परा एवं संस्कृति र नेपाली सेना थिए । गणतन्त्र, धर्म्निरपेक्षता र संघीयताको विषवृक्ष त उनीहरु रोप्न सफल भए नै, पटक–पटक संसारका सबभन्दा पुराना सैनिक संगठन मध्येको एक नेपाली सेनालाई पनि उनीहरुले अपमानित गरे । यति गर्न पाएपछि उनीहरुले दलरुपी दुर्याेधनहरुलाई छाडा छोडिदिए । दलहरुले देशलाई कुन रसातलमा पुर्याए त्यसको वर्णन गरिराख्नै परेन ।

राज्य आज जनता र देशप्रति जिम्मेवार छैन । नहुनुको कारण यिनै बोकेका कुकुरबाट मृगको शिकार गराउने सकुनीहरुको भूमिका नै हो । ५ वर्षमा एकपटक भोट हाल्ने बाहेक जनताको अरु कुनै काम छैन भन्ने व्यवहारबाट अनुभवी बनेका दलहरुले जनताको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक कुनै दायित्व नै लिनुपरेन । जनताको दायित्व लिनु परेन भने देशको पनि परेन । चुनावका बेला वा अघिपछि ठूलठूला भाषण गर्ने तर व्यवहारमा केही नगर्ने ! अनि जनता त भेडा नै हुन् भन्दै रात्रीभोजमा अट्टाहास गर्ने ! यस्तो दुर्भाग्यपूर्ण नियतिका हामीले १३–१४ वर्ष व्यतीत गर्याै । आगे हाम्रै मर्जी !

थप जानकारी