राष्ट्र हितमा समर्पित
BMP Infology
शुक्रवार, कार्तिक १, २०७६

ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

शनिवार, २८ भाद्र २०७६ १४:१९

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । जीवनराम पहिलो कार्यकालमा पनि नेपाल ओलम्पिक कमिटीको अध्यक्ष थिए ।

दुईपल्ट राखेप सदस्यसचिव नियुक्त भइसकेका जीवनराम काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित नेकपाका सांसद हुन्।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र महिला नेतृ सहाना प्रधानका छोरा हुन् ।
अध्यक्षमा २, ५ उपाध्यक्षका लागि ८, महासचिवका लागि २, ३ सचिवका लागि ४ जना र ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका थिए ।
भदौ २० गते हुनुपर्ने निर्वाचन सर्वोच्च अदालतमा रिट परेपछि शनिबारका लागि सारिएको थियो। जीवनराम नेतृत्वको कमिटी अवैधानिक भएको दाबीसहित परेको रिटमा सर्वोच्चले भदौ २२ मा अन्तरिम आदेश दिन अस्वीकार गरी मुद्दा खारेज गरेपछि ओलम्पिक चुनावको बाटो खुलेको हो । चार वर्षअघि पनि विवादका कारण ओलम्पिक चुनाव निर्धारित मितिभन्दा एक महिना पर धकेलिएको थियो ।
निर्वाचनको पर्यवेक्षणको लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र एसियाली ओलम्पिक कमिटी (ओसीए) को प्रतिनिधि आएका थिए । नेपाली ओलम्पिक इतिहासमै प्यानल सहितको चुनावी प्रतिस्पर्धा पहिलोपल्ट भएको हो ।
उनले अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पराजित गरे । जीवनरामले १७ मत पाउँदा उमेशलालको पक्षमा १० मत परेको छ ।
महासचिवमा जीवनराम प्यानलकै लिलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । उनले उमेशलाल प्यानलका उम्मेदवार पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पराजित गरे । लिलेन्द्रले १५ र पुरेन्द्रले १२ मत पाए । उपमहासचिव पदमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन चुनिएका छन् ।
५ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ज्योती राणा (२६), चतुरानन्द राजवैद्य (२२), तेजबहादुर गुरुङ (२०), सुनिलकुमार श्रेष्ठ (१८) र अशोकरत्न बज्राचार्य (१५) निर्वाचित भएका छन् । उपाध्यक्षका अन्य प्रतिस्पर्धी समिम मिया अन्सारीले १२, पुष्पदास श्रेष्ठले ११ र राजीव श्रेष्ठले ११ मत पाए ।
यसैगरी ३ सचिव पदका लागि भएको निर्वाचनमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । बज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत पाए । सचिवका अर्का प्रतिस्पर्धी केशवकुमार विष्ट भने पराजित भए । राखेपका पूर्वसदस्यसचिव समेत रहेका विष्टले १७ मत पाए ।
नेपाल ओलम्पिक कमिटीको ७ सदस्यको लागि भएको निर्वाचनमा रमेशप्रसाद शिवाकोटी (२६), प्रकाशशम्सेर राणा (२६), गोपालसुन्दर लाल कक्षपति (२६), दीर्घबहादुर केसी (२६), होमबहादुर दोङ (२५), टासी घले (२४) र राम अवाले (२०) निर्वाचित भए । सदस्य पदका अर्का प्रतिस्पर्धी मनोरञ्जनरमण शर्मा भने पराजित भए । शर्माले ९ मत मात्र पाए ।

थप जानकारी