राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

आर्थिक कारणले हुन सकेन जिब्रो छेड्ने जात्रा

आइतवार, २९ भाद्र २०७६ ८:३०

भक्तपुर, भदौ २९ गते । इन्द्रजात्राको भोलिपल्ट मध्यपुर थिमिमा जिब्रो छेडेर मनाइने येँया पुन्हिया मेय् प्वाः खनेगु जात्रा यस वर्ष आर्थिक अभावले हुन सकेन ।

११ वर्षसम्म रोकिएपछि २०७४ सालदेखि सञ्चालनमा आएको जिब्रो छेड्ने जात्रा यस वर्ष पनि हुन नसकेको पहिले जिब्रो छेड्नु भएका वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले जात्रा चलाउन आर्थिक भार धेरै हुने कारण धेरै गाह्रो भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ४१ वर्षपछि २०६३ सालमा गुरु कृष्णनाई श्रेष्ठले जिब्रो छेडाउनु भएको थियो, त्यसपछि २०७४ मा मैले छेडे र ७५ सालमा बालकराम श्रेष्ठले छेडाउनुभएको थियो ।

यो वर्ष उहाँको पारिवारिक समस्या परेकाले जात्रा सम्पन्न गर्न सक्नुभएन उहाँले थप्नुभयो, “अर्को वर्षमा भने मैले अथवा बालकराममध्ये कुनै एक जनाले जिब्रो छेडाउने तय भएको छ ।

एक जना भाइले जिब्रो छेडाउने इच्छा व्यक्त गर्नु भएपछि ढिला भइसकेका कारण मान्छेको अभाव र आर्थिक अभावको कारण जात्रा चलाउनले गाह्रो भयो ।”

पौराणिक कथनअनुसार, परापूर्वकालमा थिमिका स्थानीय बासिन्दा भूतप्रेत, ख्याकजस्ता राक्षसबाट पीडित थिए । थिमिका जनतालाई दुःखबाट छुटकारा दिलाउन थिमिका आराध्यदेवी बालकुमारीको साधना गरेपछि भाद्र शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षस यस ठाउँमा यस्ता साहसिक व्यक्ति रहेको भन्दै भागेको जनश्रुति रहेको श्रेष्ठले बताउनुभयो । उहाँले जिब्रो छेड्ने जात्राका लागि करिब एक महिना अगाडिदेखि नै गरेको तयारी पूरा गर्नुपर्ने बताउनुभयो ।

थप जानकारी