राष्ट्र हितमा समर्पित
BMP Infology
शुक्रवार, कार्तिक १, २०७६

एउटा अभियन्तासँग थुरथुर काँपिरहेको गणतन्त्र

बुधवार, १ आश्विन २०७६ १३:००

कर्णप्रखर धिताल

वि.सं. २०५६ सालको आमनिर्वाचनमा कृष्णप्रसाद भट्टराईको पोष्टर टाँसेर गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसलाई बहुमत दिलाए । कृष्णप्रसाद भट्टराईले शासन सम्हालेको एकवर्ष जतिमै तिनै गिरिजाप्रसादले आफै सत्तामा बस्ने यस्तो दबाव सृजना गरे कि कृष्णप्रसाद भट्टराई अन्ततः राजीनामा दिन बाध्य भए । गिरिजाप्रसाद कोइराला सत्ता नभएर बाँच्न नसक्ने मान्छे ! तर माओवादी पार्टीले चलाएको हत्या, हिंसा र आतंकको श्रृंखला रुकेन, झन् बढेर गयो । उनी आफ्नो सत्ता जोगाइराख्न नेपाली सेनालाई नेपाल प्रहरीलाई जस्तै परिचालित गर्न चाहन्थे, सेनाले त्यसरी परिचालित हुन अस्वीकार गरेपछि उनी पनि पदबाट राजीनामा दिन बाध्य भए । नेपाली कांग्रेसको संसदीय दलको बैठकले उनकै प्रतिस्पर्धी शेरबहादुर देउवालाई संसदीय दलको नेता चुन्यो, शेरबहादुर प्रधानमन्त्री बने ।

शेरबहादुर देउवाको सरकार पनि उनै गिरिजाप्रसाद कोइरालाले ढालि दिए । संकटकाल लम्ब्याउने देउवा सरकारको निर्णयलाई अस्वीकार गर्दै पार्टी सभापति कोइराला र उनको पार्टी कांग्रेस आफै विपक्षमा उभिए । देउवाले प्रतिनिधिसभा भंग गरे, तर ६ महिनाभित्र सम्पन्न गर्नुपर्ने आमनिर्वाचन गराउन सकेनन् । संविधान अवरुद्ध हुने भयो, देउवाले दलहरुकै सहमतिमा धारा १२७ प्रयोग गरेर राजालाई संविधानको रक्षा गर्न बिन्तीपत्र चढाए । राजाले पनि त्यसपछि अनेक उपाय प्रयोग गरे, कहिले लोकेन्द्रबहादुर त कहिले सूर्यबहादुर त कहिले उनै शेरबहादुर देउवालाई सरकारको नेतृत्व दिएर । कसैले पनि देशलाई निकास दिन नसकेपछि अन्ततः ०६१ साल माघ १९ गते राजाले तीन वर्षको अवधि मागेर शासन भार आफैले लिए । तर राजीनामा दिएर हिंडेका गिरिजाप्रसाद कोइराला र प्रधानमन्त्री बन्न पाउँ भनी बिन्तीपत्र हालेका माधव नेपाललाई प्रधानमन्त्री मनोनयन गरेनन् ।
भारतले नेहरुकै पालामा बल्लभभाइ पटेलमार्फत् नेपाललाई सिनित्तै निल्ने इच्छा जाहेर गरिसकेको थियो तापनि राजा महेन्द्रका कारण त्यो सम्भव हुन सकेन । राजसंस्था नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको लागि जस्तोसुकै जोखिम पनि उठाउन सक्छ भन्ने निष्कर्षमा जब भारत पुग्यो, अनि उसले नेपालमा गणतन्त्रको खोजी थालिसकेको थियो । २०२७ साल र २०४५ सालका नाकाबन्दी तथा नेपालका विभिषणहरुलाई बोलाएर ०६३ साल मंसिरमा गराइएको १२ बुँदे सम्झौता उसका क्रमशः कडीहरु थिए । गणतन्त्रको संक्षिप्त कथा यति मात्र हो । अरु विदेशी शकुनी पनि होलान् मूलतः भारतले थोपरिदिएको गणतन्त्रमाथि एउटा नेपालीले गर्व गर्नुपर्ने कुनै आधार र कारण छैन ।
गणतन्त्रको शाब्दिक अर्थमा अहिलेको राज्यसत्ता ब्रह्मलुट मच्चाइरहेको छ । सरकार मात्र हैन राज्यका सम्पूर्ण निकाय ब्रह्म लूटमा छन् । गणतन्त्र भन्ने शब्दको अर्थमा उत्तरदायित्व हुन्छ भन्ने कुरा कांग्रेस, एमाले, माओवादीका कुनै पनि नेतालाई थाहा छैन । उनीहरुका कार्यकर्ता भनौं वा छौंडाहरु शिवजीका जन्तीजस्तै लूटको साम्राज्यमा उन्मादपूर्ण नग्न नृत्यमा छन् । घरको दुई छाक जोहो गर्न, बृद्ध आमाबाबुको उपचारको जोहो गर्न वा आफ्ना नानीहरुको कापीकिताबको जोहो गर्न वास्तविक देशभक्त नेपाली लाखौंको संख्यामा अरबका मरुभूमिमा रगतको आँशु पिउँदै जीवनको लडाइँ लडिरहेका छन् । उनीहरुमध्ये महिनामा सरदर ७ जना लाश बनेर फर्कन्छन् । कांग्रेस र कम्युनिष्टहरुको गणतन्त्र देश र जनताको यो उत्तरदायित्व लिन मान्दैन । यस्ता अनेकौं दुःखका कुरा छन् । अनि यो गणतन्त्र महान् हो भनेर ईश्वर अराधना थन्क्याएर ‘सयौं फूलको थुंगा हामी’ भन्दै मन्दिर मन्दिरमा खडा हुनुपर्ने रे !
अहिले यो गणतन्त्र तुलसीको मठ नजिकै सुताइएको छ । भाट र चारणहरु मृत्युशैयामा सुतेको गणतन्त्रलाई ब्युँझाउन अनेक स्तुति र चारण गीतहरु गाइरहेका छन् । तर गणतन्त्र, बालुवाटारमा, असीम पीडामा छ भन्ने कुरा विगत एक डेढ महिनाका केही गतिविधिले प्रष्ट पार्छन् ।
एकडेढ महिना अघि के–के भए ? प्रधानमन्त्री खड्ग ओली र सत्ताधारी पार्टीका दोस्रा अध्यक्ष प्रचण्ड करिब करिब एकसाथ आराम तलब गर्न क्रमशः सिंगापुर र दुबई पुगे । यसैबीचमा मन्त्रिमण्डलका दोस्रा ठूला सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेलले यता निर्मल निवास नजिकै पूर्वराजा ज्ञानेन्द्रलाई सुटुक्क भेटेको समाचार सनसनीपूर्ण तरिकाले फैलियो । प्रचण्ड ‘हातमा टोपी समाएर’ दुबईबाट काठमाडौं फर्किए । फर्किनासाथै रामेछाप पुगेर राजा ज्ञानेन्द्रलाई नागार्जुन दरबारबाट पनि निकालिदिने धम्कीयुक्त भाषण गरे । त्यसपछि सिंगापुरमा आराम फरमाएर फर्किएका प्रधानमन्त्री ओलीले पनि चिहानमा गाडिसकेको हड्डी फुकेर पुरानो व्यवस्था फर्कन नसक्ने भनेर राजसंस्थाप्रति नै निशाना साधे । प्रधानमन्त्री ओली पुनः स्वास्थ्योपचारका लागि सिंगापुर गए । उनी फर्कनु २–३ दिनअघि उनका निकटतम पार्टी नेताहरु वामदेव गौतम र विष्णु पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर जाने भए । विष्णु पौडेल निर्धारित समयमै सिंगापुरतिर हिंडे तर वामदेव गौतमले राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनलाई भेटेर मात्र भोलिपल्ट सिंगापुर हिंडेको समाचारले पनि बजारमा सनसनी मचायो । अहिले, कहिले सर्वदलीय बैठक त कहिले तीन ठूला नेता वा चार ठूला नेताको बैठकका नाममा बालुवाटारमा सर्वदलीय बैठकहरु बसेको बस्यै छन् । प्रश्न यहींनेर छ कि सरकार र सत्ताधारी पार्टीका नेताहरु किन यस्ता अभिव्यक्ति दिइरहेका छन् र किन यस्ता भेटघाट र बैठकमा पसिना बगाइराखेका छन् ? सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई यो गणतन्त्रले किन सुसूचित गर्दैन ?
नेपालको समाचार जगतमा भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्वकर्मचारी अमर भुषणले आफ्नो पुस्तक ‘इनसाइड नेपाल’मार्फत भारतले गणतन्त्रका लागि प्रचण्डलाई मनाउन समय खर्चिनुपरेको खुलासा गरेपछि हामीले ल्याएको गणतन्त्र भनेर कुनै नेपालीले पनि छाती थुर्नै परेन । तर यो भन्दा पनि महत्वपूर्ण कुरा उनको त्यो पुस्तक ठीक यति नै खेर बजारमा आउनुले केही सन्दर्भ पक्कै पनि बोकेको हुनुपर्छ । ठीक यति नै खेर चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमण सकेर फर्किएका छन् । उनको भ्रमणले नेपालमा कम्युनिष्टहरुको दुईतिहाइ बहुमतको सरकार चलिरहेको बेला चिनियाँ राष्ट्रपति सी जीन पिङले नेपालको पहिलो भ्रमण गर्नेछन् भन्ने पनि कुनै उत्साहजनक सन्देश दिन सकेन । उनी उल्टै आफ्नो भ्रमण तालिकामा नरहेको नारायणहिटी राजदरबार भ्रमण गरेर फर्किए । दुई प्रमुख छिमेकीहरुबाट आएका यी संकेत ‘बलिदान’ गरेर ल्याएको गणतन्त्रका लागि कहीं अपशकुनका संकेत त होइनन् ?
जेहोस्, संसारको एक प्राचीनतम देश, प्राचीनतम सभ्यता, प्राचीनतम संस्कृति भत्काउन गरिएका अनेक षडयन्त्रहरुको जुन समष्टि रुप थियो गणतन्त्र भन्ने, त्यो सुन्निएर अहिले तुलसीको मठ अगाडि सारिएको छ । यसको विभत्स अवसानको कथा अत्यन्त साधारण मानिसहरुबाट लेख्न प्रारम्भ भएको छ । भ्रष्टाचारविरुद्धको एउटा अभियन्ता ज्ञानेन्द्र शाहीसँग थुरथुर काँपिरहेको गणतन्त्र कति कमजोर छ भन्ने कुरा जुनसुकै नेपालीले देख्न र बुझ्न सक्छ । अहिले सत्तारुढ पार्टी आफ्ना भातृ संगठनहरुमार्फत् एउटा नागरिकलाई स्वतन्त्ररुपले देश घुम्नबाट प्रतिबन्धको घोषणा गर्दैछ । अनुमान लगाउन सकिन्छ कि यो गणतन्त्र कति कमजोर छ भनेर ।
नेपालका राजनीतिक दलहरु विदेशीका खेलौना नभइदिएको भए गणतन्त्रको यो पीडादायी खण्ड नेपालको इतिहासले व्यहोर्नुपर्ने थिएन । सत्ता र सत्तासुखको परिकल्पनामा आफ्नो स्वत्व समेत बेच्न तयार भएका नेताहरुका कारण मुलुक यो दुर्दान्त कथा लेखिने चक्करमा पर्याे । त्यसमाथि स्वयं राजसंस्थाले आफ्नो बाहुलाभित्र अनेक विषालु सर्पहरु पालेको रहेछ, जसले पालैपालो राजसंस्थालाई डसेर मारिदिए । यिनीहरुको कथा अर्काे प्रसंगमा ।

थप जानकारी