राष्ट्र हितमा समर्पित
BMP Infology
शुक्रवार, कार्तिक १, २०७६

यस कारण डा. अधिकारी युगद्रष्टा हुन् : सुशील गौतम

शनिवार, ११ आश्विन २०७६ १६:०९

सुशील गौतम । त्यसो त हाम्रो समाजमा मरिसकेका मानिसको ज्यादै गुणगान गर्ने चलन छ, कसैबाट छिपेको छैन । बाँचिन्जेल सत्तोसराप गर्ने, मरेपछि वहाँ यस्तो हुनुहुन्थ्यो, त्यस्तो हुनुहुन्थ्यो भनेर बखान गरिन्छ । तर यहि समाजमा आज फरक नजिर प्रस्तुत भएको छ ।

असोज ४ गते मौलिक जरोकिलो पार्टीको केन्द्रिय समितिको विस्तारित बैठक बसेको थियो काठमाडौँमा । केन्द्रिय समिति सदस्यहरु सहित आमन्त्रित सदस्यहरुले सपथ लिए । यो त सामान्य घटना थियो । तर सपथ ग्रहण युगद्रष्टा डा निर्मलमणि अधिकारीको नाममा लिइएको थियो । यो ऐतिहासिक घटना थियो ।
निर्वाचन आयोगमा दर्ता भएको दलको विधान र घोषणा पत्रमा नेपालमै जन्मभुमी र नेपालमै कर्मभुमी भएका व्यक्तिलाई “युगद्रष्टा” सम्बोधन गर्दै वहाँले निर्माण गर्नुभएको सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद र आधारशीला चतुष्टयलाई आत्मसाथ गरेर नेपाललाई नयाँ वैश्विक संरचनाको केन्द्रको रुपमा स्थापित गर्न कर्मरत रहने सपथ लिनु नेपालको निम्ति बिल्कुलै नौलो घटना हो । निर्वाचन आयोगमा दर्ता भएका १५१ वटा पार्टीमा विरलै यस्तो घटना भएको होला ।
गुरु निर्मलमणि अधिकारी ४४ बर्षको उमेरमा ४४ वटा पुस्तक प्रकाशन गरिसक्नुभएको छ । ४५ औं पुस्तक पनि प्रकाशनको क्रममा छ । वहाँले अभिनिर्माण गर्नुभएको “सञ्चारको साधारनिकरण ढाँचा” ३२ वटा भाषामा अनुवाद भइसकेको छ । दुई दर्जन विश्वविद्यालयमा अध्यापन हुनेगरेको छ । साठी वटा भन्दा अनुसन्धानमुलक लेख र २६ सय भन्दा बढी लेख रचना प्रकाशित छन् । सञ्चारको साधारनिकरण ढाँचाबाट प्रभावित भएर छिमेकी राष्ट्र भारतको इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिस्केसनले प्राध्यापन सुरु गरेको कुरा टाईम्स अफ इण्डिया र हिन्दुस्तान टाईम्सले प्रमुखताको साथ् प्रकाशन गरेका थिए ।

एउटा नेपाली नागरिकले नेपालमै बसेर गरिएको खोज अनुसन्धानले अन्तराष्ट्रिय स्तरमा प्रभाव पार्न सकिँदो रहेछ भन्ने कुराको द्योतक पनि हो । सिद्धान्तकार हुनु सानो बिषय होइन । त्यसमाथि सञ्चारको क्षेत्रमा एसियाको एक मात्र सिद्धान्तकारको रुपमा वहाँलाई पाउनु हामी नेपालीको निम्ति गर्वको बिषय हो ।

धर्म र विज्ञान दुवैको क्षेत्रमा वहाँको अध्ययनको गहनता बुझेर इण्डोनेसियाको सरकारी विश्वविद्यालय आइ एच डि एनको धर्मदुत विभागले “महागुरु” को रुपमा सम्मान गरिसकेको छ । भारतको मध्यप्रदेशमा आचार्य र आन्ध्र प्रदेशमा ‘महामहोपाध्याय’ बाट सम्मानित भइसक्नुभएको छ ।
नेपालमा व्याप्त विपन्नता र अस्थिरताको परिस्थिति त छँदै छ । विश्व परिस्थिति अहिले संक्रमणको अवस्थामा छ । केहि समय अगाडी सम्म पनि विश्व एक ध्रवमा सिमित थियो । संयुक्त राज्य अमेरिकाले जे चाह्यो त्यहि हुन्थ्यो भने अहिले अमेरिकाले चाहँदैमा हुने अवस्था रहेन ।

रसिया, चीन, भारत जस्ता आर्थिक र सामरिक रुपमा शक्तिशाली देशहरुको उदयले विश्व बहुध्रुवीय संरचनामा जाँदै गरेको देखिन्छ । केहि अघि सम्मको संरचनामा नकारात्मक विशेषता रहेता पनि विश्वमा स्थिरता थियो । तर बहुध्रुवमा प्रवेश गर्दै गर्दा ठुलै अस्थिरताको संकेत देखिन्छ जसको प्रमुख कारण युरोप केन्द्रित राष्ट्रराज्य सिद्धान्त रहेको छ ।

जन्मको आधारमा प्राप्त जात, जाति, भाषा, नश्ल, सम्प्रदायलाई ‘राष्ट्रियता’ मानिने र त्यहि राष्ट्रियतामा टेकेर राज्य निर्माण गरिने उक्त राष्ट्रराज्य सिद्धान्तले घृणा र द्वन्दको भुमरी ल्याउने सक्ने प्रष्ट संकेत देखाएको छ । नेपालको सन्दर्भमा मधेश छुट्टै राष्ट्र हो पहाड छुट्ट्रै राष्ट्र हो भनेर विखण्डनको निम्ति लागिपरेका सी के राउत त्यहि युरोप केन्द्रीत राष्ट्रराज्य सिद्धान्तबाट प्रेरित थिए र नेपालको विखण्डनको निम्ति लाद्न खोज्नेका थिए । यो समस्या तत्काललाई टरेकोको देखिएता पनि नेपाल बहुराष्ट्र राज्य हो भनेर जुन ठाउँमा पुग्यो त्यहि ठाउँको समुदायलाई उचाल्ने केहि राजनीतिकर्मी अझै सक्रिय रहेकोले सैद्धान्तिक टावरबाटै समाधान नगर्दासम्म विखण्डनकारीले टाउको उठाउन सक्ने सम्भावना टरेको छैन ।

समस्या नेपालको मात्रै होइन । छिमेकी राष्ट्र चीनमा १० वटा र भारतमा ८ विखण्डनकारी यहि राष्ट्रराज्य सिद्धान्तमा टेकेर विखण्डनकारी गतिविधि गरिरहेका छन् । अफ्रिकामा ५३, एसियामा ९७, दक्षिण अमेरिकामा १०, उत्तर अमेरिकामा २६, अस्ट्रेलियामा ५ वटा र सबै भन्दा धेरै युरोपमा ११५ वटा विखण्डनकारी शक्ति देखापरेका छन् । राष्ट्रराज्य सिद्धान्तले दिएको राष्ट्रियताको परिभाषामै खोट रहेकोले विखण्डनकारी शक्तिहरुको संख्या बरु बढ्ने छ, घट्ने सम्भावना छैन । क्याटेलोनियाको संसदले जनमत संग्रहको परिणाम आएपछि स्पेनबाट छुट्टिने घोषणा गर्यो । तर फ्रान्स, स्पेन र युरोपियन युनियनको दबदबाको कारण छुट्टै राज्य बन्न पाएन ।

जनताको अभिमतको सम्मान गर्ने जति नै ठुलो प्रतिबद्धता गरेतामा पनि क्याटेलोनियाको स्वतन्त्रताको लागि गरिएको जनमत संग्रहको परिणाम स्वीकार गर्दा यसको लहर अन्दालुसिया, आरागोन, अस्तुरियास, बास्क, क्यानरी, क्यान्ताब्री, कास्तिले, गलिसिया, लेयोन, मुर्सिया, कार्ताजेना आदिमा फैलिन्थ्यो र स्पेन टुक्रा टुक्रा हुन्थ्यो । विभाजनको लहर स्पेनमै मात्र सिमित नरही छेउको फ्रान्समा पनि फैलिन्थ्यो । जहाँ उत्तर क्याटालोनिया, बास्क, ब्रिटानी, कोर्सिका, साभोया, ओक्सिटानिया, अलास, कोर्सिका, नोमाण्डी लगायतका समुदायहरु स्वतन्त्र हुन खोजिरहेका छन् । स्पेन र फ्रान्समा पुरै युरोप र सारा विश्वमै फेरी विभाजनको लहर नचल्ला भन्न सकिदैनथ्यो । तत्काललाई यो समस्या टरेपनि समुल समाधान भनेको भएको छैन ।

समाधानका दुई वटा उपाय छन् । एउटा सैन्य शक्तिले दवाएर राख्ने अर्को जुन सिद्धान्तको कारण समस्या उब्जिएको हो त्यसलाई सैद्धान्तिक तवरबाटै परास्त गर्ने । युगोस्लाभियामा त्यस्तै भयो । क्रोट्स, सर्ब, मेसेडोनियन, स्लोभेन, स्लोभाक, बोस्नेनियन, मुस्लिम, मोण्टिनेग्रेन जस्ता समुदायहरुले युगोस्लाभियाबाट स्वतन्त्र हुन खोजिरहेका थिए । तत्कालिन शासक जोसेफ ब्रुज टिटोले सैन्य शक्तिले दबाएर राखेका थिए । उनको मृत्यु संगै सैन्य शक्ति कमजोर भयो । अमेरिका र सोभियत युनियन बीचको शीतयुद्धको उत्कर्ष बेला थियो । विश्व दुई ध्रुवबाट एक ध्रुव बन्ने संक्रमणमा थियो । सन् १८८९ मा युगोस्लाभियाको विखण्डन सतहमा आयो । अहिले क्रोयसिया, सर्बिया, मेसेडोनिया, स्लोभेनिया, स्लोभाकिया, बोस्निया, हर्ज गोभिना, कोसोभो र मोण्टिनेग्रो जस्ता देशहरुमा विभाजित भयो । सर्बिया र कोसोभोको समस्या अझै समाधन भइसकेको छैन ।

छिमेकी राष्ट्र भारत बेलायतको शासनबाट स्वतन्त्र हुन चलाएको संग्राम अन्तिम चरणमा थियो । मोहम्मद अलि जिन्हाले मुसलमान फरक राष्ट्र भएको हुँदा मुसलमान राष्ट्रको निम्ति छुट्टै राज्य ‘पाकिस्तान’ हुनुपर्ने माग राखे । त्यस्तै विनायक दामोदर सावर्करले हिन्दुत्वको आधारमा चल्नुपर्ने राज्यको वकालत गरे । भारत नजानिँदो किसिमले राष्ट्रराज्यको परिभाषामा पर्न गयो । फलस्वरूप, सन् १९४७ मा भारत र पाकिस्तान नाम गरेको दुई छुट्टा छुट्टै देशहरु अस्तित्वमा आए । यो क्रममा १० लाख मानिस मारिए ।

धार्मिक सम्प्रदायलाई राष्ट्रको परिभाषा दिएर बनेको पाकिस्तान उर्दु भाषा र बांग्ला भाषालाई राष्ट्रियताको आधार बनाएर सन् १९७१ मा फेरी टुक्रियो । बंगलादेश नाम गरेको राज्य अस्तित्वमा आयो । तर परिभाषामै खोट रहेको कारण विभाजनको सृंखला सकिएको छैन । बंगलादेशमा शान्ति वाहिनी र बंग सेना जस्ता विखण्डनकारी शक्ति अस्तित्वमा आइसकेका छन् भने पाकिस्तानमा बलोचिस्तान, सिन्ध र गिल्गिट जस्ता राज्यको लागि माग जोडदार उठिरहेको छ । बलोचिस्तानको लागि मात्र तीन वटा शैन्य शक्तिहरु उदाईसकेका छन् ।

विश्व एकध्रुवीय संरचनाबाट बहुध्रुवीय संरचनामा जाँदैछ । आर्थिक, सामरिक र सांस्कृतिक महोत्वाकांक्षाको कारण शक्तिराष्ट्रहरु बीच टकराव अवस्य आउनेछ । विश्वमा अहिले ३०० वटा भन्दा बढी विखण्डनकारी शक्ति रहेका छन् । यो संख्या झन् झन् बढ्दै जानेछ किन भने राष्ट्रराज्य सिद्धान्तले यहि भन्छ । संक्रमणकालीन समयमा शक्तिराष्ट्रहरु बीच टकराव आउँदा कस्तो अवस्था आउला अहिलेलाई यकिन गर्न सकिन्न । नेपाल जस्तो देश जहाँ १२५ भाषा, १२३ जाति जनाजाती रहेको ठाउँमा यो सिद्धान्तको सोझो प्रयोगले कस्तो अवस्था आउला ? मधेशमा उठेको माग तत्काललाई समाधान भएको जस्तो देखिएता पनि नेपाललाई राष्ट्रराज्य सिद्धान्तको आधारमा परिभाषित गर्ने समूहहरु सलबलाईरहेको हुँदा कुनै अनुकुल वातावरण मिल्ने बितिक्कै घृणा, विभाजन र द्वन्दको दुश्चक्रमा फस्ने निश्चित छ ।

शैन्य शक्तिद्वारा गरिएको समाधान दीर्घकालीन हुँदैन भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ । अब बाँकी रह्यो, सैद्धान्तिक तवरबाटै यसको समाधान । राष्ट्रराज्य सिद्धान्तको कारण सिर्जित यो समस्याको अचुक समाधान राज्यराष्ट्र सिद्धान्त हो । जन्मैको आधारमा प्राप्त हुने जात, भाषा, नश्ल, धार्मिक सम्प्रदाय आदिलाई राष्ट्रको परिभाषा राष्ट्रियता होइन, राष्ट्रियताको परिभाषा राज्यको आधारमा दिन्छ । जसले गर्दा उक्त राज्यमा रहेका विविध भाषाभाषी, जातजाति, सम्प्रदाय आदिको समष्टिगत चरित्र नै राष्ट्रियता बन्न पुग्छ जुन राज्यमार्फत प्रतिविम्बित हुन्छ । यो सिद्धान्तले सांस्कृतिक अधिकार (Cultural rights) र नागरिक तथा राजनीतिक अधिकार (Civil and political right ) लाई विशिष्टीकृत गरेर दुवैको अस्तित्व स्वीकार्ने हुँदा जन्मैको आधारमा प्राप्त विशेषतालाई “पहिचान” को आधार बनाएर विखण्डनको माग गर्ने अवस्थाको अन्त्य गर्दछ ।

अथर्ववेद निर्दिष्ट राज्यराष्ट्र सिद्धान्त बौद्ध, किरात, जैन जस्ता धार्मिक सम्प्रदायले अङ्गीकार गरेको सहृदयता दर्शनमा आधारित छ । नेपालमै जन्मथलो नेपालमै कर्मथलो भएको डा निर्मलमणि अधिकारीद्वारा अभिनिर्मित यो सिद्धान्तले विश्वमा देखा परेको घृणा, विभाजन र द्वन्दको समस्यालाई एकसाथ सम्बोधन गर्दै समाधानको उपाय दिएको हुँदा वहाँलाई युगद्रष्टा भनिएको हो । इजरायल र प्यालेस्टाईन समस्या, यमनमा हौथीको समस्या, टर्कीमा कुर्दिसको समस्या, पाकिस्तानमा बलोच समस्या, भारतमा खालिस्तानको समस्या र चीनमा उइघुरको समस्यालाई एकैसाथ समाधान दिने यो सिद्धान्तको सिद्धान्तकारलाई युगद्रष्टा भनिएको हो ।

कौटिल्यले लेखेको अर्थशास्त्रपछि यस हिम्वत्खण्डमा अर्को राजनीतिक सिद्धान्त बनेको छैन । २३ सय बर्षपछि यस भुखण्डबाट विश्वले खोजिरहेको सिद्धान्त प्रतिपादन गर्नुभएको कारण वहाँलाई युगद्रष्टा भनिएको हो ।
फुत्किएको माछा ठुलो अथवा हातैमा जे धुलो झरेपछि त्यहि सुनको फूल भन्ने गरिन्छ नि । त्यस्तै प्रवृति सबैले दोहोर्याउनुपर्छ भन्ने छैन । वहाँले निर्माण गर्नुभएको सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद र आधारशीला चतुष्टयको गहनता बुझेर वहाँलाई युगद्रष्टा भनिएको हो । यो युगमा आउन सक्ने समस्यालाई बोध गरी सिद्धान्तको तहबाटै समाधान दिएको कारण वहाँलाई युगद्रष्टा भनिएको हो । जसरी नेपालमा “युगकवि” भन्नाले सिद्धिचरण श्रेष्ठलाई र “राष्ट्रकवि” भन्नाले माधवप्रसाद घिमिरेलाई बुझिन्छ त्यस्तै गरी “युगद्रष्टा” डा निर्मलमणि अधिकारीलाई बुझिन्छ । तर सुरुवाती चरणमा यो सबैको लागि स्वीकार्य नहुनसक्छ । हिरालाई हिरा हो भनेर चिन्ने क्षमता पनि चाहिन्छ र हिरा हो भनेर खुलेर भन्ने हिम्मत पनि चाहिन्छ । मौलिक जरोकिलो पार्टीले संक्रमणकालीन विश्व परिस्थिति र यसको संवेदनशीलता बुझेको छ । समस्या देखेको छ र यसको समाधान राज्यराष्ट्र सिद्धान्त हो ठोकुवा गरेको कारण पुरै विश्वमा देखिएको समस्या समाधान गर्न सक्षम सिद्धान्त प्रदान गर्नुभएका गुरु निर्मलमणि अधिकारीलाई सत् सत् नमन गर्दै “युगद्रष्टा” भनेर पार्टीको विधान र घोषणापत्रमै लेखिएको छ र यो कुरामा हामी गौरव गर्छौं ।

लेखक मौलिक जरोकिलो पार्टीका संयोजक हुन् ।

थप जानकारी