राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

नेपाल टी ट्वान्टी वरियतामा तल झर्दै १३ औं स्थानमा

शुक्रवार, २४ आश्विन २०७६ १८:१२

एजेन्सी । कठमाडौं, असोज २४ गते। नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट वरियता क्रममा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल एक स्थान तल झरी १३ औं स्थानमा पुुगेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको नयाँ वरियतामा यूनाइटेड अरब एमिरेट्स बाह्रौं स्थानमा उक्लेको छ । ओमानमा सम्पन्न पाँच देश सम्मिलित टी ट्वान्टी श्रृखंला सके लगत्तै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नयाँ वरियता क्रम सार्वजनिक गरेको हो ।

नेपालले सिंगापुरमा सम्पन्न त्रिदेशीय टी ट्वान्टी श्रृखंला र ओमानमा सम्पन्न टी ट्वान्टी श्रृखंलामा गतिलो प्रदर्शन गर्न सकेको थिएन । नेपालभन्दा गतिलो प्रदर्शन गरेको आयरल्याण्ड र ओमान भने वरियता क्रममा माथि उक्लिन सफल भएको हो । श्रृखंला अघि १९४ रेटिंग रहेको नेपालको नयाँ वरियता क्रममा १९० मा झरेको हो ।

यसअघि १७ औं स्थानमा रहेको आयरल्याण्ड ओमान पेन्टागुलर टी ट्वान्टी श्रृखंलामा उत्कृष्ट प्रदर्शन गरेपछि तीन स्थान माथि उक्लेर वरियताको चौधौं स्थानमा पुगेको छ । श्रृखंलाको चार मध्ये चारवटै खेल जितेको ओमान भने १६औं स्थानमा उक्लेको हो ।
वरियता क्रमको शिर्ष स्थानमा पाकिस्तान छ ।

इंग्ल्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, भारत चौथो र अष्ट्रेलिया वरियता क्रमको पाँचौं स्थानमा छन् । त्यसैगरी, न्युजिल्याण्ड छैठौं, श्रीलड्ढा सातौं, अफगानिस्तान आठौं, वेष्टइन्डिज नवौं, बङ्गलादेश दशौं तथा स्कटल्याण्ड वरियता क्रमको एघारौं स्थानमा छन् । अन्तर्राष्ट्रिय एकदिवसिय वरियतामा नेपाल भने १७ औं स्थानमा छ ।

थप जानकारी