राष्ट्र हितमा समर्पित
मङ्गलवार, बैशाख ४, २०८१

३५ राष्ट्र सम्मिलित कठीन अभ्यासमा नेपाली सेनालाई स्वर्ण

बुधवार, २९ आश्विन २०७६ १४:३८

काठमाडौं, असोज २९ गते । नेपाली सेनाले संयुक्त अधिराज्य(बेलायत)मा सञ्चालित ‘क्याम्ब्रियन पेट्रोल २०१९’ अभ्यासमा स्वर्ण पदक प्राप्त गरेको छ ।

नेपाली सेनाका प्रमुख सेनानी अशिमदेव गुरुङ्गको नेतृत्वमा दश जनाको सैनिक टोलीले अभ्यासमा उत्कृष्ट गर्दै स्वर्ण पदक जितेको हो ।
बेलायतको वेल्स, ब्रेकनमा असोज २४ गतेदेखि दुई दिनसम्म उक्त कठीन प्रकृति अभ्यास सुरु भएको थियो ।

बेलायतको १०६ र नेपालसहित ३४ अन्य राष्ट्रका गरी १४० टोली उक्त अभ्यासमा सहभागी भएको थियो । युद्धकालीन विशेष परिस्थितिहरुको कल्पना गरी शत्रुपक्षको गतिविधि समेटेर सञ्चालन गरिने विश्वस्तरीय सैन्य अभ्यासमा नेपाल २०१४ देखि सहभागी हुँदै आएको छ । अभ्यास भने बेलायतले १९६० बाट नै वार्षिक रुपमा सञ्चालन गर्दै आएको छ ।
उक्त अभ्यासमा सैन्य टुकडीका प्रत्येक सदस्यले करीब ५० पौण्ड तौल बराबरको उपकरण एवम् बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ । दूरी पार गर्ने क्रममा लडाईको तयारी, नक्सा र कम्पासको सहयोगले खोलानाला, बिरामीको व्यवस्थापन, विष्फोटक पदार्थहरु पत्ता लगाउने कार्य गर्दै यात्रा तय गर्नुपर्छ ।

नेपाली सेनाको उक्त टोलीका सदस्यहरुमा विशेष फौज बाहिनी, पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मबाट चयन गरिएको थियो । व्यवसायिक, समर्पित, साहासी र संयमित अभ्यासमा सहभागी भएर केहीवर्षभित्रै अब्बल प्रमाणित गरेकोमा नेपाली सेनाको प्रतिष्ठा उच्च बनाएको जनाएको छ ।

अभ्यासमा सहभागी हुँदा मित्रराष्ट्र बेलायतसँगको सैन्य सम्बन्ध र अन्य सहभागी सेनाबीचको मैत्री सम्बन्ध प्रगाढ बनाउने विश्वास गरेको छ ।

थप जानकारी