राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख १३, २०८१

जापानका सम्राट नारुहितोको औपचारिक राजगद्दी आरोहण सम्पन्न

मङ्गलवार, ५ कार्तिक २०७६ १४:४८

काठमाडौँ । जापानका सम्राट नारुहितोले एउटा भव्य समारोहका बीच राजगद्दी आरोहण गरेका छन् । उनका पिता अकिहितोले राजगद्दी परित्याग गरेपछि ५९ वर्षीय नारुहितो मे महिनामा जापानको सम्राट बनेका थिए । पूर्वसम्राट अकिहितो पनि आफ्ना छोराको राजगद्दी आरोहण समारोहमा उपस्थित थिए ।

विभिन्न परम्परागत विधि सम्पन्न भएपछि बल्ल उनले औपचारिक रूपमा राजगद्दी आरोहण गरेका हुन् । जापानमा भर्खरै समुद्री आँधी हगिबिसका कारण धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरियो । हगिबिसका कारण जापानमा झन्डै ८० जनाको मृत्यु भएको थियो ।

सम्राटहरूले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा राजगद्दीमा बसेका थिए । त्यहाँबाट उनले एउटा लिखित मन्तव्य वाचन गरे । राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने शपथ लिन्छु, समाचार संस्था रोएटर्सले उनलाई उद्धृत गरेको छ ।

सो अवसरमा उनकी पत्नी साम्राज्ञी मासाको सँगै रहेको अर्को आसनमा बसेकी थिइन्। उनले १२ पत्र भएको वस्त्र लगाएको बताइन्छ । प्रधानमन्त्री शिन्जो आबेले सम्राटलाई बधाई ज्ञापन गर्दै सम्बोधन गरेका थिए । त्यसपछि उनको नेतृत्वमा उपस्थित मानिसहरूले बान्जाई अर्थात् सम्राट चिरायु रहून् भन्दै नारा लगाएका थिए ।

उक्त विशेष समारोहमा जापानको राजकीय शक्तिको सङ्केतका रूपमा लिइने प्राचीन तरबार र रत्न पनि राखिएको थियो । उक्त समारोहमा यूकेका राजकुमार चार्ल्स तथा अन्य गन्यमान्य व्यक्ति पनि उपस्थित छन् । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि जापानी सम्राटको राजगद्दी आरोहण समारोहमा सहाभागी हुन जापान गएकी छन् ।

सम्राटले विदेशबाट आएका शाही प्रतिनिधिहरूका लागि चियापान आयोजना गर्दैछन् । प्रधानमन्त्रीले सबै अतिथिहरूका लागि रात्रिभोज आयोजना गरेका छन् । जापानमा संवैधानिक राजतन्त्र छ र सम्राटको भूमिका प्रायः आलङ्कारिक हुन्छ । उनले नागरिकहरूसँग अन्तर्क्रिया गर्ने तथा विदेशी पाहुनासँग भेट गर्ने गर्छन् ।

थप जानकारी