राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

रंगशाला तयार नहुँदा घरेलु मैदानको खेल पनि विदेशमै खेलाइने

बिहिवार, २१ कार्तिक २०७६ १६:५३

काठमाडौं, कात्तिक २१ गते । दशरथ रंगशालाका लागि निर्धारित विश्वकप फुटबल छनोट प्रतियोगिताको नेपालको घरेलु मैदानको लागि निर्धारित खेल भुटानमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले मंसिर ३ गते कुवेत विरुद्ध हुने खेल दशरथ रंगशालामा खेलाउने प्रस्ताव गरेको थियो । तर निर्माणाधीन अवस्थामा रहेको रंगशालाको समयमै निर्माण पुरा हुन नसकेपछि उक्त खेल नेपालमै नहुने निश्चित भएको हो ।

एन्फाको प्रस्तावमा एशियाली फुटबल महासंघ र अन्तर्राष्ट्रिय फुटबल महासंघले रंगशाला तयारी अवस्थामा नरहेको प्रष्ट्याएपछि एन्फाले उक्त खेल नेपालमा हुन नसक्ने जनाएको छ ।

एन्फाको प्रस्तावमा ए एफ सीको प्रतियोगिता समितिको प्रतिनिधि देङग सिओ लोङगले मंगलबार दशरथ रंगशालाको नीरिक्षण गर्नुभएको थियो । उहाँले प्रतियोगिताका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम रंगशाला तयार हुन नसकेको रिपोर्ट बुझाउनुभएको थियो ।

एन्फाले कुवेत विरुद्धको होम खेल भुटानको चाङगलिमिथाङग रंगशालामा सञ्चालन गर्न फिफा र ए एफ सीसँग प्रस्ताव गरिएको जनाएको छ । एन्फाका प्रवक्ता किरण राईले अधिकत्तम प्रयासका बावजूद नेपालमा उक्त खेल हुन नसक्ने बताउनुभएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पमा क्षतिग्रस्त बनेको दशरथ रंगशालाको पुर्ननिर्माणको कार्य विगत् तीनवर्षदेखि हुँदै आएको छ ।

थप जानकारी