राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

कालापानी नेपालको हो

शुक्रवार, २२ कार्तिक २०७६ १७:५६

अधिवक्ता सुजित के.सी

सन् १९६२ मा कालापानीमा भारतीय सेना बसेयता त्यहाँ निरन्तर उसको कब्जा रहेको छ । यो नेपालको राष्ट्रिय अखण्डताविरुद्ध भारतको खुला प्रहार हो । विभन्न नक्साहरुले लिम्पियाधुराबाट उद्गम भएको कुटियाङ्दी नदी नै काली हो भनी प्रमाणीत गरिसकेको भए पनि इन्डियाले कालापानीमा रहेको सानो पोखरीलाई यो नै काली नदीको मुहान हो भनी लिपुलेक र लिम्पियाधुरा बीचका ३७२ वर्ग किलोमिटर नेपाली भूभागमाथि अतिक्रमण गरेको छ ।

सन् १८१७ को नक्सामा कुटियाङ्दीलाई काली नदी भनिएको छ । तर सन् १८६५–७७ का अवभिमा बनाइएका नक्सामा भारतीय पक्षबाट अतिक्रमण गरी काली नदीका ठाउँमा कुटियाङ्दी अड्ढित गरिएको छ । २०१८ सालको जनगणनामा लिम्पियाधुरा र लिपुलेक भञ्ज्याङ्खबिचका कुटी, नाबी, गुन्जी आदी गाउँमा नेपाल सरकारले जनगणना गरेको थियो । अहिले ती नेपाली क्षेत्रहरुमा भारतीय सेनाका चेक पोष्टहरु छन् ।

ऐतिहासिक दस्तावेज, अभिलेख र प्रमाणका आधारमा नेपालको पश्चिमी सीमान्त विन्दु लिम्पियाधुरा हो भन्ने जान्दाजान्दै लिपुलेकलाई सिमाना मान्ने जुन भुल नेपालका पूर्ववर्ती सरकारहरुले गरेका छन्, त्यसलाई नेपाली जनताले स्विकार्नुपर्ने कुनै बाध्यता छैन । तसर्थ लिम्पियाधुरादेखि लिपुलेकसम्मको हाल भारतअधिनस्थ नेपाली भु–भागबाट भारतीय सेना अविलम्ब हट्नुपर्छ भन्ने जनआवाजको कदर नेपाल र भारत दुवै देशका सरकारहरुले गर्नुपर्छ ।

भारतले कालापानी कब्जा गर्नुमा उसका केही खास स्वार्थहरु रहेका छन् । ती मध्ये महाकाली नदीको अधिकांश पानी आफ्नो भागमा पार्नु एक हो । अहिले पनि नेपालले भन्दा कैयाैँ गुणा बढी पानी भारतले प्रयोग गरिरहेको छ । ‘’त्यसै गरि कैलाश मानसरोवर प्रवेशमार्गका रुपमा रहेको लिपुलेक भञ्ज्याङ कब्जा गरी नेपाली पर्यटनलाई आघात पुर्‍याउनु र भबिष्यमा प्रयोगमा आउन सक्ने अन्तर–महादेशीय व्यापारिक मार्गबाट नेपाललाई वञ्चित गर्नु भारतको अर्को बद्नियत हो ।

चीन र भारतबीच सीमाविवादले युद्धको रुप लिदाँ चीनको गतिविधि अवलोकन गर्न पाइने हुँदा सामरिक महत्वको कालापानीमा कब्जा जमाइराख्नु भारतको सुनियोजित चाल हो । कालापानी देखि दक्षिणमा अवस्थित २०,२७६ फिट अग्लो पहाडको थुम्कोबाट लिपुलेक भन्ज्याँ«ङ्ग वरपर तिब्बतको गतिविधि समेत हुँदा भारतले कालापानी कब्जा गरेको हो । ब्रिटिश इन्डियाले प्रमाणित गरेको पुराना नक्साहरु नेपालले प्रस्तुत गर्दा पनि भारत त्यसमा सहमत नहुनुको एकमात्र कारण यो मुद्दालाई लम्ब्याउँदै आफू त्यहाँ लामो समयसम्म बसिरहन खोज्नु हो ।

कुनै पनि छिमेकी देशविरुद्ध आफनो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धताविपरीत नेपाली भूमिमा भारतीय फौज रहन दिँदा नेपाल चीनविरुद्धको मोर्चामा सामेल भएको अर्थ लाग्छ । यो प्रत्युत्पादक अवगालबाट बच्न पनि नेपालले कालापानीबाट भारतीय सशस्त्र सुरक्षा बल हटाउनैपर्छ ।

नेपालको राष्ट्रियताको सन्दर्भमा कालापानीलाई विशेष प्राथमिकताका साथ हेर्नुपर्नेमा यो मुद्दा बेलाबखतमात्रै उठ्ने गरेको पाइन्छ । तर कालापानीलाई उपेक्षा गर्नु सिङ्गो नेपाली राष्टियतालाई धराशायी तुल्याउनु हो । यो मुद्दालाई अनिर्णयको बन्दी होइन , अविलम्ब निर्णायक विन्दुमा पुर्याउनुपर्छ ।

सुगौली सन्धि(सन् १८१६) ले निर्धारित गरेको वर्तमान नेपालको पश्चिमी सिमाना महाकाली नदी भएको र यो नदीको उद्गमस्थल लिम्पियाधुरादेखि पूर्व नेपाली क्षेत्रमा बसेको भारतीय सुरक्षा बललाई कुनै पनि हालतमा हटाउनैपर्छ । भारतीय सुरक्षाबल त्यहाँबाट नहटेसम्म यसलाई राष्ट्रिय मुद्दा बनाएर अघि बढ्ने प्रत्येक नेपालीको दायित्व हो ।

थप जानकारी