राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

कम्युनिष्ट र काँग्रेसलाई सच्याउन राप्रपालाई भोट दिनुस्: थापा

सोमवार, २५ कार्तिक २०७६ २०:१५

कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिष्ट गलत बाटोमा भएको हुँदा सच्याउनको निम्ति उपनिर्वाचनमा राप्रपालाई भोट दिन आग्रह गरेका छन् ।

चुनावी प्रचारका लागि कास्की पुगेका उनले ठूला ठूला भ्रष्टाचारमा ठूला दलको संलग्नता भएको आरोप पनि लगाए ।

लोकतन्त्रको नाममा देशमा लुटतन्त्र हाबी भएको आरोप लगाउँदै थापाले एनसेल कर छुट, ३३ क्विन्टल सुन काण्ड , वाइडबडी जहाज काण्डमा ठूला दल र नेताहरुको संलग्नता रहेको आरोप लगाए ।

परिवर्तनका नाममा धर्म, संस्कृति कमजोर बनाइएको, आत्मसमर्पणवादी मानसिकताको बिकास गरिएको उनको भनाइ छ ।

कास्की २ को चुनावी अभियानमा सहभागी हुँदै थापाले कास्कीको निर्वाचन परिणामले सरकार ढल्ने वा कांग्रेस बढ्ने अवस्था नभएकाले परिवर्तनको सन्देशका लागि राप्रपालाई भोट दिन आग्रह गरे ।

राप्रपा अध्यक्ष थापाले सोमबार पोखराका विभिन्न वडामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रमलाई उपाध्यक्ष तोरण गुरुङ , प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ , उम्मेदवार रोमबहादुर भण्डारी र चुनावी अभियानका संयोजक जयलाल पुन लगायतले सम्बोधन गरेका थिए ।

थप जानकारी