राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

‘देशको एक इन्च पनि जमिन मिच्न दिइने छैन’

सोमवार, २ मंसिर २०७६ ८:४०

काठमाडौँ, मङ्सिर २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने प्रस्ट पार्नुभएको छ । मित्रराष्ट्र भारतले हालै प्रकाशित गरेको भारतको नक्सामा नेपालका केही भूभाग अतिक्रमण गरेको विषयमा विभिन्न टीकाटिप्पणी र विरोध भइरहँदा प्रधानमन्त्री ओलीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

काठमाडौ आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको भेला उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सरकार आफ्नो देशको सिमाना रक्षा गर्न सक्षम रहेको बताउनुभयो । मुलुकको सिमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै एकजुट भएर एकताको सन्देश प्रवाह भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सरकारलाई जनताबाट प्राप्त बलियो समर्थनका लागि प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “दशकौँअघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएकोजस्तो गरेर प्रचार भइरहेको छ, यो देशभक्त सरकार कसैलाई हाम्रो एक इन्च पनि जमिन मिच्न दिँदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।”

प्रधानमन्त्री ओलीले संसारसामु शान्तिप्रिय छवि भएको नेपालले आफूले पनि कसैको एक इन्च जमिन नमिच्ने र अरूलाई पनि आफ्नो जमिन मिच्न नदिने स्पष्ट पार्नुभयो । कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नक्सा सच्याउनुभन्दा भूमि फिर्ता लिने कुरा महìवपूर्ण रहेको बत(ाउनुभयो ।

उहाँले भन्नुभयो, “कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिनुभएको छ, हामी नक्सा सच्याउनुभन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौँ ।” दशकौँअघि नेपाली भूमि अतिक्रमित हुँदा मौन रहने तर अतिरिक्त देशभक्ति देखाउने नाममा उच्छृङ्खल गतिविधि गर्ने काम अनुचित रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उहाँले भन्नुभयो, “राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैको साथ रहेको छ । सरकारलाई प्राप्त बलियो समर्थनका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु तर आफूलाई अतिरिक्त देशभक्त देखाउन गरिने उच्छृङ्खल गतिविधि अनुचित छन्, हामी कूटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौँ ।” प्रधानमन्त्री ओलीले सङ्क्रमणकाल अन्त्य गरी कानुनी पूर्वाधारसमेत बनाउन समय खर्च गरे पनि सरकारले विकासको नयाँ जग बसालेको बताउनुभयो ।

“कानुनी पूर्वाधार बनाउन हामीले धेरै समय लगाउनु परे पनि आर्थिक वृद्धिदर सात दशमलव एक प्रतिशत पु¥याउन सफल भएका छौँ, आयात घटाउँदै निर्यात बढाएर व्यापार घाटा कम गर्दै लगेका छौँ,” प्रधानमन्त्री ओलीले थप्नुभयो, “उत्पादन वृद्धि र पूर्वाधार विकासमा हामी तीव्र गतिका साथ अघि बढेका छौँ ।” वैचारिक पूर्वाग्रह र आफूले व्यक्तिगत रूपमा केही नपाएको गुनासोजस्ता दुई कारणले मात्रै सरकारको विरोध भएको प्रधानमन्त्री ओलीको विश्लेषण थियो ।

“सरकारले राम्रै गरे पनि कम्युनिस्ट सरकार छ कसरी राम्रो भयो भन्नू भन्ने हिसाबले एकथरीले ‘आइडियोलोजिकल’ विरोध गरिरहेका छन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अर्काेथरी सबै कुरा राम्रो हुँदै गए पनि मैले त केही पाइनँ नि भनेर पनि विरोध भइरहेको छ ।”
उहाँले तथ्यमा आधारित विरोधले मात्र कमजोरीहरू सुधार्न सहयोग पुग्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले समाजवाद र पुँजीवादका चारित्रिक विशेषताबारे जानकारी दिँदै सोचाइमा सकारात्मकता, सिर्जनात्मकता र काममा रचनात्मकता अपनाउन युवा सङ्घका कार्यकर्तालाई निर्देशन दिनुभयो । -गोरखापत्रबाट

थप जानकारी