राष्ट्र हितमा समर्पित
मङ्गलवार, बैशाख ४, २०८१

१५ सय कैदीको भीडमा नख्खु कारागारमा दिन काट्दै आलम

सोमवार, २ मंसिर २०७६ ९:१९

काठमाडौं। रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद महमद अफ्ताव आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ ।

रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारागार ल्याइएको थियो ।

नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको जनाएको छ । नख्खु कारागारका प्रमुख सुरेन्द पौडेल आलमलाई कुनै अत्तिरिक्त सेवा सुविधा नदिइएको बताउँछन् । ‘यो कारागारमा १५ सय कैदीबन्दी छन् । तीमध्ये आलम पनि एक हुन् । सामान्य कैदीलाई जसरी राखिन्छ, त्यसरी नै राखिएको छ,’ कारागार प्रमुख पौडेलले राजधानीसँग भने ।

नख्खु कारागारमा तीन बन्दीगृह छन् । प्रत्येक बन्दीगृहमा ५ सयका दरले कैदीलाई व्यवस्थापन गर्दै आइएको कारागारले जानकारी दिएको छ । बन्दीगृहभित्र कैदीलाई ५ देखि ७ जनाको समूहमा राख्ने गरिएको छ । आलमलाई पनि ५ देखि ७ जना रहने कोठामा राखिएको छ । जुन समूहमा खाली हुन्छ, सोहीअनुसार कैदीलाई स्थान उपलब्ध गराउने गरिएको छ ।

दुई दिनको जेल बसाइमा आलमले कुनै शंकास्पद व्यवहार नदेखाएको कारागार व्यवस्थापनले जनाएको छ । कारागारले कैदी भेट्न १० देखि ४ बजेसम्मको समय छुट्टाएको छ । याे खबर राजधानी दैनिकमा छ ।

थप जानकारी