राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

कुवेत सँग नेपाल १–० ले पराजित

मङ्गलवार, ३ मंसिर २०७६ २०:५०

काठमाडौं, मङ्सिर ३ गते । नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप छनोटको आफ्नौ पाँचौं खेलमा कुवेतबाट ०–१ गोलले पराजित भएको छ । पहिलो चरणको खेलमा ७–० को विशाल अन्तरले हार बेहोरेको नेपालले दोस्रो चरणको खेलमा भने ०–१ मा रोक्न सफल भयो ।

कप्तान बदर अल मुतावाले पेनाल्टी क्षेत्रको दायाँ भागबाट डिफेन्डरलाई बिट मार्दै गोल गर्नुभयो । २८ औं मिनेटमा कप्तान मुतावाले गर्नुभएको पहिलो र एकमात्र गोल नै निर्णायक हुन पुग्यो ।

घरेलु मैदान तयार नहुँदा भुटानको चाङलिमिथाङ मैदानमा उत्रिएको नेपाली फुटबल टोलीले खेलको १३ औं मिनेटमा नै गोलको अवसर पाएको थियो । तर सकेनन । १५ औं मिनेटमा रवी पासमानले दिएको क्रसमा पेनाल्टी क्षेत्रभित्र रहेका एकमात्र खेलाडी अभिषेक रिजालको प्रहारले कुवेतको गोल पोष्ट चुम्न सकेन । नेपालले खेलको प्रारम्भमै गोल गर्न पाएको अवसर खेर फाल्यो ।

विशाल अन्तरको हारबाट जोगिन गोलरक्षक किरण चेम्जोङले कुवेतको तीन पटकको उत्कृष्ट प्रयासलाई विफल बनाउनुभयो । नेपालले खेल अवधिभरि पटक पटक गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

४१ औं मिनेटमा तेज तामाङको कर्नरमा विक्रम लामाले दिएको पासमा रोहित चन्दको प्रहारलाई कुवेती गोल रक्षकले उत्कृष्ट बचाउ गर्नुभयो । नेपालले गोल गर्ने यो सबैभन्दा उत्तम अवसर थियो ।
कुवेतले ६० औं मिनेटमा पहिलो पहेंलो कार्ड खायो । खेलको ९० औं मिनेटमा कुवेतले पेनाल्टी क्षेत्रबाट पाएको अवसरलाई गोलरक्षक चेम्जोङले विफल तुल्याउनुभयो ।

नेपालले आफ्नो प्लेइङ एलेभनमा गोलरक्षणको जिम्मा किरण चेम्जोङलाई दिएको थियो । रक्षात्मक पंक्तिमा अन्नत तामाङ, देवेन्द्र तामाङ, अजित भण्डारी र रञ्जित धिमाल रहनुभयो । रोहित चन्द र विक्रम लामासँगै तेज तामाङले सेन्टर मिडफिल्डर सम्हाल्नुभयो । विङ्समा सुजल श्रेष्ठ र रवी पासवान तथा एकल फरवार्डको भूमिकामा अभिषेक रिजाल उत्रिनुभएको थियो ।

खेल समाप्त भएपछि गोल रक्षक चेम्जोङले नेपालले अङ्क बटुल्ने लक्ष्यसहित उत्रिएपनि खेल जित्न नसकेकोमा दुःख ब्यक्त गर्नुभयो । चेम्जोङले म्याच रेफ्रीको केही निर्णयप्रति असन्तुष्टी ब्यक्त गर्नुभयो ।

जितसँगै कुवेत पाँच खेलबाट दश अङ्क प्राप्त गरेको छ । चार खेलबाट १२ अङ्क जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । तेस्रो स्थानको जोर्डनले चार खेलबाट ७ अङ्क जोडेको छ । नेपालले भने पाँच खेलमध्ये तीनमा हार र एकमा जित हात पारेर तीन अङ्कसहित चौथो स्थानमा रहेको छ । अङ्कविहीन चाइनिज ताइपेइ पुछारमा छन्

थप जानकारी