राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ३, २०७८

सागका लागि फुटबल टोलीको समूह विभाजन, बङ्गलादेश र भुटानसँगै नेपाल समूह ‘ए’ मा

शुक्रवार, ६ मंसिर २०७६ १९:१९

काठमाडौं, मङ्सिर ६ गते । तेह्रौं दक्षिण एसियाली खेलकूद प्रतियोगिता(साग)को लागि खेल तालिका विभाजन गरिएको छ । खेल तालिका बमोजिम नेपाली पुरुष फुटबल टोली अपेक्षाकृत सहज समूहमा परेको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले गरेको समूह विभाजन बमोजिम नेपाल समूह ‘ए’मा परेको छ । एन्फाले एक सार्वजनिक समारोहको आयोजना गरी ‘ड्र’ गरेर समूह वर्गीकरण गरेको हो ।

नेपालसँगै बङ्गलादेश र भुटान समूह ‘ए’मा छन् । त्यसैगरी समूह ‘बी’मा भारत, मल्दिभ्स र श्रीलङ्का अटाएका छन् । नेपालले आफ्नो पहिलो खेल मङ्सिर १५ गते दशरथ रङ्गशालामा बङ्गलादेश विरुद्ध खेल्नेछन् । हरेक टोलीले सेमीफाइनलमा पुग्न दुई दुई खेल खेल्नुपर्नेछ । नेपालले समूहगत् चरणकै आफ्नो दोस्रो खेलमा मङ्सिर १९ गते बिहीबार दशरथ रङ्गशालामा भुटान विरुद्ध खेल्नेछ ।

त्यसैगरी समूह ‘बी’को पहिलो खेलमा भारतले मल्दिभ्सको सामना गर्नेछन् । दुबै टोलीबीचको खेल मङ्सिर १६ गते सोमबार दशरथ रङ्गशालामा नै हुनेछन् । मङ्सिर १७ गते बङ्गलादेशले भुटानको सामना गर्नेछन् । त्यसैगरी मङसिर १८ गते मल्दिभ्सले श्रीलङ्काको र १९ गते नेपालले भुटानको सामना गर्नेगरी खेल तालिका सार्वजनिक गरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतले श्रीलङ्काको सामना मङ्सिर २० गते दशरथ रङ्गशालामा गर्नेछ ।

समूह चरणमा बढी अङ्क ल्याउने दुई टोली सेमीफाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्गलबार २४ मङ्सिरमा खेलाइनेछ । सेमीफाइनलमा हार बेहोर्ने दुई टोलीबीच दशरथ रङ्गशालामै तेस्रो स्थानको लागि मङ्सिर २४ गते नै स्पर्धा हुनेछ ।

यसैबीच, सागमा चार वटा राष्ट्रको महिला टोलीले मात्रै स्पर्धा गर्ने भएको छ । सार्वजनिक गरिएको समूहगत् विभाजन बमोजिम नेपाल, भारत, श्रीलङ्का र मल्दिभ्सको महिला टोलीले फुटबलमा सहभागिता जनाउनेछ । महिला फुटबल टोलीको सबै खेल पोखरा रङ्गशालामा खेलाइनेछ ।

एउटै समूहमा रहेको सबै टोलीले एक अर्कासित स्पर्धा गर्नेछ । यसरी महिला प्रत्येक टोलीले लिग चरणमा तीन वटा खेलमा सहभागी हुनेछ । तीन खेलबाट उत्कृष्ट हुने चारमध्ये दुई टोलीले फाइनलका लागि भिड्ने एन्फाले जनाएको छ ।

थप जानकारी