राष्ट्र हितमा समर्पित
BMP Infology
मङ्गलवार, माघ ७, २०७६

कांग्रेसले भ्रष्टाचारविरुद्ध सबै स्थानीय तहमा विरोध सभा गर्छ:  प्रवक्ता शर्मा

शुक्रवार, २० मंसिर २०७६ २०:२२

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कांग्रेसले भ्रष्टाचारविरुद्ध सबै स्थानीय तहमा विरोध सभा गर्ने बताएका छन् ।

नेपाली कांग्रेस कागेश्वरी मनोहरा संघर्ष समितिद्वारा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले स्थानीय तहमा एक रुपैयाँ मात्र पनि भ्रष्टाचार भए काँग्रेस विरोधमा उत्रने चेतावनी दिएका छन् ।

सरकारका बेथितिविरुद्ध काँग्रेसले नेपाल बन्द आयोजना गर्दा जनताले दुःख पाउने भएकाले विरोध सभाबाट नै जनतालाई जगरुक बनाउने बताए । ‘बर्लिनको पर्खाल ढले झैं धरान उपमहानगरपालिकामा १४ मंसिरमा भएको  निर्वाचनमा कम्युनिष्ट ढलिसके’, शर्माले भने, ‘नेकपाको नेतृत्वमा दुई तिहाइको समर्थनमा सरकार बनेपछि जे पनि गर्दा हुन्छ भन्ने मानसिकताले नेकपालाई जनताले पत्याउन छाडिसकेको यो प्रमाण हो ।’

उपनिर्वाचनको परिणामले सत्तारुढ नेकपालाई ‘सच्चिने कि सक्किने’ भन्ने दुई वटा विकल्प मात्र रहेको उनले दाबी गरे । शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह नगर भरतपुर महानगरपालिका र प्रधानमन्त्रीको स्थायी घर भएको भक्तपुरमा समेत नेकपा पराजित हुनु उपनिर्वाचनले नेकपालाई सच्चिन सन्देश दिएको बताए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्र समेत रहेको कागेश्वरी मनहरामा भ्रष्टाचार, अनियमितता, बेथिति र ढिलासुस्ती भएको भन्दै नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगर संघर्ष समितिले २७ बुँदे प्रचार सार्वजनिक गरेको छ ।

काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको चरम अनुकम्पाले प्रधानमन्त्री भएका नेपालले आफ्नो निर्वाचन क्षेत्रमा नेकपाकै नगर प्रमुखले गरेको भ्रष्टाचार र बेथिति नियन्त्रण गर्न नसकेको शर्माको आरोप थियो ।

कार्यक्रममा संघर्ष समितिका संयोजक शंकर थापा, काँग्रेस काठमाडौंका  सभापति सवुज वानियाँ (कृष्ण), नेता लोकेस ढकाल, क्षेत्रीय अध्यक्ष उपेन्द्र कार्की लगायतले स्थानीय तहमा भएको भ्रष्टाचार र अनियमितताको विरुद्ध मन्तव्य राखेका थिए ।

थप जानकारी