राष्ट्र हितमा समर्पित
बिहिवार, भाद्र ३१, २०७८

गौरिकाको दोस्रो स्वर्णसँगै नेपाललाई ४१ स्वर्ण

शुक्रवार, २० मंसिर २०७६ २०:४६

काठमाडौं, मङ्सिर २० गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)मा छैठौं दिनको खेलसम्म ४१ स्वर्ण पदक जितेको छ । सागको छैठौं दिन नेपालले गल्फमा दुई, एथ्लेटिक्स, भारत्तोलन र पौडीमा एक एक गरी पाँच स्वर्ण जित्यो । सागको तेह्रौं संस्करणमा नेपालले हालसम्म कुल ११६ पदक प्राप्त गरेको छ ।

काठमाडौं–पोखरा–जनकपुरधाममा जारी सागको तेह्रौं संस्करणमा हालसम्म १६९ स्वर्ण पदकको नतिजा आइसकेको छ । कुल ३२४ स्वर्णका लागि स्पर्धा हुँदैछ । नेपालले हालसम्म ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित ११६ पदक प्राप्त गरेको छ ।

पहिलो तीन दिन सागको तेक्वान्दो र कराँते विधामा प्रभुत्व कायम गर्दै नेपाल पदक तालिकाको शिर्ष स्थानमा रहेपनि चौथो दिन भारतले एकैपटक १५ स्वर्ण जितेर शिर्ष स्थान उक्लिएको हो । भारतले हालसम्म ८१ स्वर्ण, ५९ रजत र २५ कास्य गरी १६५ पदक जितेको छ ।
तेस्रो स्थानमा श्रीलङ्का छन् । श्रीलङ्काले २३ स्वर्ण, ४२ रजत र ६९ कास्यसहित १३४ पदक जितेको छ । पाकिस्तानले १९ स्वर्ण, २५ रजत र २९ कास्यसहित कुल ७३ पदक प्राप्त गरेको छ । पाँचौं स्थानमा रहेको बङ्गलादेशले चार स्वर्ण, १८ रजत र ५१ कास्यगरी कुल ७३ पदक जितेको छ । माल्दिभ्स भने एक स्वर्ण र दुई कास्यसहित तीन पदक प्राप्त गर्दा भुटानले हालसम्म छ कास्य प्राप्त गरेको छ ।

गौरिका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा दोस्रो स्वर्ण जित्नुभएको छ । उहाँले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण प्राप्त गर्नुभयो । उक्त दूरी गौरिकाले दुई मिनेट १७.७३ सेकेण्डमा पुरा गर्नुभयो । भारतकी मन्ना पटेलले दुई मिनेट २०.७१ सेकेण्ड लगाएर रजत प्राप्त गर्नुभयो । श्रीलङ्काकी गंगा सेन उक्त दूरी दुई मिनेट २७.२५ सेकेण्डमा पार गरेर कास्यमा चित्त बुझाउनुभयो ।

थप जानकारी