राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

लगातारको हिमपातले जनजीवन अस्तव्यस्त

मङ्गलवार, २२ पौष २०७६ १७:४८

खलङ्गा, पुस २२ गते । एक साता नपुग्दै जुम्लामा फेरि हिमपात भएको छ । सोमबार रातिदेखि फेरि हिमपात भएको हो । योसहित जुम्लामा तेस्रो पटक हिमपात भएको छ ।

गत मङसिर महिनामा भारी हिमपात भएको जुम्लामा एक सातादेखि लगातार हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।
हिउँ पर्न थालेपछि भने जनजीवन नराम्ररी प्रभावित भएको छ । दैनिक सञ्चालनका कार्यहरु रोकिएका छन् । यातायात अवरुद्ध भएका छन् ।

हवाई यातायात समेत ठप्प भएको छ । यसैगरी जुम्लाको न्यूनतम तापक्रम ५ डिग्री रहेको हावापानी फिल्ड कार्यालयले जनाएको छ । यसपटक सबैभन्दा कम पुस १ गते माइनस ७.२ डिग्रीमा झरेको हावापानी फिल्ड कार्यालयले जानकारी दिएको छ ।

हिउँपानी र वादलले एक सातादेखि यहाँको जनजीवन अस्तव्यस्त भएको छ । जसले गर्दा चिसो अत्याधिक बढेको छ । हिमपात परिरहँदा मानिसहरु दिक्क हुन थालेका छन् । मङ्सिर महिनामै करिब अढाई फिट परेको हिउँ नपग्लिदै पटक पटक हिउँ परेपछि हैरानी भएको छ ।

हिउँपछिको चिसोले विशेषगरी ज्येष्ठ, नागरिक र वालवालिकाहरुलाई रुघाखोकी समेत बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । हिमपातले सरकारी कार्यालयका कामहरु प्रभावित हुनुका साथै विकास निर्माणसमेत काम ठप्प भएका छन् । तापक्रम न्यून भएकाले सिमेन्ट लगायतका कामहरु हुन नसक्दा पूर्वाधारका कामहरु गर्न कठिन भएको कार्यालयहरुले जनाएका छन् ।

थप जानकारी