राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

यूक्रेनी विमान दुर्घटनामा इरानको संलग्नता रहेको अमेरिकी अधिकारीको दाबी

शुक्रवार, २५ पौष २०७६ १२:५०

एजेन्सी । काठमाडौं, पुस २५ गते । अमेरिकी अधिकारीहरुले तेहरानमा १७६ जनाको मृत्यु हुने गरी दुर्घटना भएको यूक्रेनी विमानलाई इरानले गलतीले प्रहार गरेको दाबी गरेको छ ।

अमेरिकी अधिकारीले दुर्घटना हुनुअघि आकाशमा चम्किने वस्तुले विमानमा प्रहार गरिएको दाबी गरेको हो । यूरोपेली नेताहरुले समेत इरानले विमान खसालेको हुनसक्ने तथ्यलाई अस्वीकार गर्न नसक्ने बताएका छन् ।

इरानले भने उक्त दाबीहरुलाई खारेज गर्दै अनुसन्धान पुरा हुन दिन आग्रह गरेको छ ।
अमेरिकी स्टेट सेक्रेटरी माइक पोम्पियोले इरानको क्षेप्यास्त्र प्रहारबाट विमान दुर्घटना भएको हुनसक्ने सम्भावनामाथि अध्ययन र अनुसन्धान भइरहेको बताउनुभएको छ ।

अमेरिकाले विमान दुर्घटना अघि इरानी रडारले विमानको ‘सिग्नल लक’ गरेको तथ्य फेला परेको दाबी गरेको छ । विमानमा रुसमा निर्मित टोर क्षेप्यास्त्रले प्रहार गरिएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।

अमेरिकी हवाई आक्रमणमा इरानका जनरल कसिम सुलेमानीको हत्यापछि इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणको केही घण्टा नबित्दै तेहरानको आकाशमा यूक्रेनी विमान दुर्घटना भएको थियो ।

इरानको विमान दुर्घटना अनुसन्धान ब्यूरोले क्यानाडाको यातायात सुरक्षा परिषद्लाई दुर्घटनास्थलमा पुगेर अनुसन्धान गर्न आग्रह गरेको छ । क्यानाडाको सुरक्षा परिषद्ले भने उक्त आग्रह स्वीकार गर्दै दुर्घटनास्थल पुग्ने तयारी गरेको छ ।

इरानको अनुसन्धान समितिका अध्यक्ष हस्सन रेज्जफरले विमानको निमार्ताको हैसियतमा अमेरिकी अधिकारीलाई अनुसन्धानको लागि दुर्घटनास्थल पुग्न आग्रह गर्नुभएको छ । इरानमाथि प्रतिबन्ध लगाइएकोले बोइङ् कम्पनीले अनुसन्धानको क्रममा दुर्घटनास्थल पुग्न अमेरिकी अधिकारीको अनुमति पर्खेको छ ।
इरानी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणले तय गरेको मार्गनिर्देशन र मापदण्ड बमोजिम दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ । अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा परिषद्ले समेत उक्त दुर्घटनाबारे अनुसन्धान गर्नेछ ।
विमानमा सबारमध्ये ८२ इरानी, ६३ क्यानाडेली, ११ यूक्रेनी, १० स्विडीश, चारजना अफगान, तीन तीन जना जर्मन र बेलायती नागरिक रहेको यूक्रेनको विदेश मन्त्रालयले जनाएको छ । विमानमा सबारमध्ये १३८ जना यूक्रेनको राजधानी किभबाट क्यानाडाको टोरन्टोको यात्रा तय गर्ने सुनिश्चित थियो ।

थप जानकारी