राष्ट्र हितमा समर्पित
BMP Infology
बिहिवार, फागुन ८, २०७६

वर्तमान परिवेशमा योगको महत्व

मङ्गलवार, २९ पौष २०७६ ११:१५

आचार्य सुजन पराजुली

अर्थप्रधान एवं अतिव्‍यस्‍त आधुनिक जीवनशैलीलाई आत्मसाथ गर्नाले प्रायः मनुष्य आज नचाहँदा नचाहँदै पनि अनेकौँ तनाव, अविश्राम, अराजकता, रोग ग्रस्‍त, अनिद्रा, निराशा, विफलता, तथा अनेकानेक कष्‍टपूर्ण परिस्थितिमा जीवन निर्वाह गर्न बाध्य छ मानव।
वास्तवमा भन्नुपर्दा मानवले प्रकृतिसंगको सामञ्जस्यलाई अपनाउनु नै हितकर हुन्छ, किनकी प्रकृति हाम्रो जीवनको आधार हो। प्रकतिले हामीलाई जीवन जीउन सिकाएको छ। तर विडम्बना भन्नुपर्छ आजको मानव आधुनिक बन्ने होडमा प्रकृतिदेखि टाढा भागेको छ, फलस्वरूप मान्छे अनेकप्रकारका दुःख, कष्ट, मानसिक विचलन आदि परिस्थितिसंग जुधिरहेको छ र आत्महत्या जस्ता घटनाको शिकार भैरहेको छ। यस्तो अवस्थामा सबैको एउटै प्रश्न छ “हामी यो निराशाजनक अवस्था देखि कसरी उठ्ने ?”
यसको सहज एवं सटीक उत्तर हो “प्रकृतिलाई आत्मसाथ गर्दै योगलाई हाम्रो जीवनको स्वभाव बनाउनु नै हो” प्रकृतिलाई आत्मसाथ गर्नु भनेको शारीरिक-मानसिक कष्टलाई कतै टाढा भगाउने कोशीस गर्नु हो। त्यसैले जसले आफ्नो जीवनको आधार “योग” बनाएको छ ऊ सधैं तन र मनको स्वस्थ रहन्छ।

गरुडपुराणमा भनिएको छ “भवतापेन तप्तानां योगो हि परमौषधम्” अर्थात् संसाररुपि ज्वरोले तड्पिएको जीवलाई योग नै परम औषधि हो।”

अब प्रश्न उठ्न सक्छ योग भनेको के हो हो ?
यसको परिभाषा के हो ?
“योग” शब्द संस्कृत भाषाको शब्द हो। संस्कृतको युज् धातुबाट योग शब्द बनेको छ। पाणिनि व्याकरणको धातुपाठमा दिवादिगण, रुधादिगण र चुरादिगण गरी तीन स्थानमा युज् धातु आएको छ। यसको अर्थ हुन्छ- युजिर् समाधौ, युजिर् संयोगे, युजिर् संयमने,
अर्थात् समवस्था यानी समाधिस्थ हुनु।
दुःखरुपि संसारसंग वियोग गरेर सुखस्वरुप आत्मासंग जोडिनु र मनलाई निरोध या संयमित गर्नु नै योग हो भन्ने स्पष्ट अर्थ हुन्छ। महर्षि पतञ्जलिले पनि “योगश्चित्तवृत्तिनिरोधः” अर्थात् मनमा आउने विचलनलाई रोक्ने कला नै योग हो। “युज्यते समाधौ विधीयते मनः अनेन इति योगः” भनेर मनलाइ एकाग्र गरि समाधिस्थ गर्नु नै योगको लक्ष्य हो भनि व्याख्या गरिएको छ।
“योग” एक मिलन हो । स्थूल शरीर र सूक्ष्म शरीरको, सूक्ष्म शरीर र आत्माको, आत्मा र परमात्माको। परमात्मा भनेको सम्पूर्ण जगतको पालनकर्ता र संहारकर्ता हो। जसलाई प्राप्त गरेपछि मनुष्यलाई विवेकख्याति, ऋतंभरा प्रज्ञा प्राप्त हुन्छ ।

ऋग्वेदमा भनिएको छ-
“स घा नो योग आभुवत् स राये स पुरं ध्याम। गमद् वाजेभिरा स न:।।” ( ऋग्वेद 1-5-3 )
अर्थात्= ती परमात्मा हाम्रासामु अभिमुख होउन् , जसको दयाले समाधि, विवेक, ख्याति, एवं ऋतम्भरा प्रज्ञा हामीलाई प्राप्त होस्। साथसाथै अणिमा आदि गरिएका आठ सिद्धि हामीलाई प्रदान गरुन्।
परमात्मासंग प्रार्थना गर्नु भनेको अविद्यालाई समाप्त गरि विद्यालाई प्राप्त गर्नु हो। अविद्या समाप्त गरेर ब्रह्माण्ड सञ्चालकसंग एकाकार गराउने शक्ति नै “योग” हो।
त्यसैले पूर्वीय दर्शनको ज्ञानराशी वेदको एउटा पक्ष सिद्धान्त हो भने, अर्को प्रयोग।
प्रयोग पक्ष भनेको “योग” हो।
त्यसैले वैदिक सिद्धान्तको जीवनमा प्रयोग नै “योग” हो।
हाम्रा शास्त्रीय सिद्धान्तहरुको व्यबहारिक पक्ष योगलाई जीवनमा प्रयोग नगरेकाले नै आज हाम्रो हरिबिजोग भएको कुराको बोध हामीलाई हुनुपर्छ । तसर्थ शास्त्रीय सिद्धान्त योगलाई हामीले प्रयोगमा ल्याउनु नै वर्तमान समयको प्रमुख ध्येय हुन जान्छ।

आदिम कालदेखि नै योग एक “जीवन पद्धति” हो। अझ हाम्रो देश नेपाल त योग देश हो। हाम्रा राष्ट्रिय देवता शिव स्वयं योगीश्वर हुनुन्छ। पूर्वीय दर्शनको मुहानभूमि देवदेश नेपालमा पनि आधुनिक जीवनशैलीको होड चलिरहेको छ। यो लहडले विस्तारै मानसिक अशान्ति र परस्पर वैमनस्यता निम्त्याउन सक्छ। अतः हाम्रो मनलाई नकारात्मक शक्तिहरूको युद्धस्थल बनाउनु हुँदैन, अनि युद्धमा शान्ति सम्भव छैन। शान्ति नहुँदा हामी दुःखी हुन्छौं, भनिएको पनि छ “अशान्तस्य कुतः सुखम्” तसर्थ मानसिक शान्तिको लागि पनि योगको प्रयोग अत्यावस्यक छ।

जीवन उन्नतिको लागि प्रमुख साधन भनेको स्मरणशक्ति एवं बौद्धिक क्षमता हो, योगको अर्थ पनि यहि हो, युजिर् संयमने अर्थात् मनको नकारात्मक प्रभावलाई निरोध गरेर सकारात्मक क्षमताहरुको विकास गर्नु। योग मुद्रा र ध्यान नै अप्रशन्न मनको औषधि हो, मन प्रशन्न भए सबै दुःख आफैँ हराउँछ। त्यसैले हामीले गर्ने प्रत्येक कर्म योगमय बनाउनु नै हाम्रो कर्मकुशलता हो, ” योगः कर्मसु कौशलम्”।

योगको महत्व केवल शारीरिक स्वास्थ्यसंग मात्र सीमित छैन। मानिस जतिसुकै ज्ञानी, विरक्त भए पनि बिनायोगाभ्यास मोक्ष सम्भव छैन। तसर्थ जन्मेर लिटो खाने र मरेर पिण्डो खाने चक्करबाट मुक्तिको लागि योगाभ्यास अत्यावश्यक छ।

विश्वमा अहिले योगको महत्व झनै बढेको छ,
नेपालमा पनि माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ। तर यसको महत्व बढेसंगै केहि भ्रान्तिहरुको पनि विकास भएको छ। योगलाई योगा ( yoga) बनाएर हामी घुमिरहेका छौं। धेरै जनालाई यो भ्रम छ की योग भनेको केवल आसन हठयोगमा सीमित छ। अझ भनौं योग भनेको केवल शारीरिक व्यायामको पद्धति मानिएको छ। वास्तवमा शारीरिक तथा मानसिक स्वास्थ्य योगको स्वाभाविक परिणाम हो। परन्तु योगको लक्ष्य अधिक दूरगामी रहेको छ। योग भनेको ब्रह्माण्डसंग स्वयंलाई सामञ्जस्य स्थापित गर्ने साधन हो। योग एक प्रकारको दिव्य अनभूति प्राप्त गर्ने कला हो।

हामीले योगसूत्रलाई अनुशरण गर्दा पनि केवल तीन सूत्रमा आसनहरुको वर्णन आउछ। मौलिकरुपमा भन्ने हो भने हठ योग भनेको तयारी प्रकृया हो, जसद्वारा उच्चस्तरीय शरीर ऊर्जालाई सहन सकियोस्। शरीरबाट सुरु भै श्वास-प्रश्वास अनि अन्तरमनलाई नियाल्ने प्रकृया नै योग हो।
योग दर्शन अनुसार योगका आठ अङ्गहरू छन्-
यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि। यसमा पहिलेका पाँच बहिरङ्ग हुन् भने अन्तिम तीन अन्तरङ्ग, जसको सम्बन्ध अन्तःकरणसंग रहन्छ।
यी आठ योगाङ्गको अनुष्ठान अभ्यासले मनसिक स्थिरता र प्रज्ञाले प्रकाशित भएपछि व्यक्ति ज्ञानविज्ञानले निपुण हुने गर्छ।
“आलोढ्य सर्वशास्त्राणि विचार्य च पुनः पुनः।
एकमेव सुनिष
“आलोढ्य सर्वशास्त्राणि विचार्य च पुनः पुनः।
एकमेव सुनिष्पन्नं योगशास्त्रं परं मतम्।।”
अर्थात् समग्र शास्त्रहरूको बारम्बार अध्ययन गरेर, निकालिएको एकमात्र सर्वोत्कृष्ट, सर्वमान्य निचोड भनेको नै योगशास्त्र हो।”

अतः व्यक्तित्व विकास र विश्व शान्तिको लागि पनि योग परम आवश्यक रहेको छ। हामी पनि आजैबाट योगाभ्यासलाई जीवनमा प्रयोग गरेर दुःख दुबिधाबाट मुक्त भै, आनन्दित र प्रकाशमय जीवन जीउने अभ्यास गरौं।

थप जानकारी