राष्ट्र हितमा समर्पित
शुक्रवार, आषाढ १९, २०७७

आर्मीलाई हराउँदै मच्छिन्द्र ए डिभिजन लिगको च्याम्पियन

शनिवार, ३ फागुन २०७६ १६:३१

काठमाडौं, फागुन ३ गते । मच्छिन्द्र युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको छ । त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मच्छिन्द्रले पहिलो पटक लिगको उपाधि उचाल्न सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न खेलमा मच्छिन्द्रले जित्नैपर्ने बाध्यताको दबाबका बीच त्रिभुवन आर्मीमाथि जित हात पार्न सफल भयो । मच्छिन्द्र यसअघि लिगको २०७० को संस्करणमा उपाधिको होडसम्म पुगेपनि उसको पहिलोपटक उपाधि जित्ने सपना पुरा हुन सकेको थिएन ।

मच्छिन्द्रको जितमा रञ्जित धिमालले गर्नुभएको एक मात्र गोल निर्णायक रह्यो । उहाँले खेलको पहिलो हाफको ३३ औं मिनेटमा गोल गर्नुभयो । धिमालको फ्रिकिक विकास गुरुङबाट उछिट्टिएर गोलमा परिणत भयो ।

खेलको ७१ औं मिनेटमा विमल घर्तीमगरको क्रसमा देवेन्द्र तामाङले गर्नुभएको प्रहार गोलपोष्ट चुम्दा अफसाइड हुन पुगेको थियो । त्यसअघि ६१ औं मिनेटमा टङ्क बस्नेतको क्रसलाई हेडमार्फत् गोलपोष्टको दिशा दिदा मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ उत्कृष्ट बचाब गर्नुहुँदै त्रिभुवन आर्मीलाई बराबरीबाट रोक्नुभयो ।

८६ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले मैदानको बीच भागबाट एकल प्रयासमा गोलपोष्ट नजिकसम्म डोर्याएपनि मच्छिन्द्रका पिटर सेगुइनले बल खोस्दै अन्तिम प्रहार गर्ने अवसर समेत दिनुभएन ।

इन्ज्युरी समयको पाँच मिनेट समय थपिदा आर्मीले गोलको आक्रामक प्रयासहरु गरेपनि मच्छिन्द्रको रक्षात्मक पद्धतीले आर्मीको चाहना पुरा हुन दिएन ।

अत्यन्तै रोमाञ्चक स्पर्धामा त्रिभुवन आर्मीले गोलको प्रयास गरेपनि सफल हुन सकेन । त्रिभुवन आर्मीले मच्छिन्द्रलाई बराबरीमा मात्रै रोक्न सकेको भए उपाधि उचाल्न सफल हुन्थ्यो ।

थप जानकारी