राष्ट्र हितमा समर्पित
आइतवार, चैत्र २३, २०७६

नेताको स्वार्थको लडाईले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य भयो : लिङ्देन

बुधवार, २८ फागुन २०७६ १७:२९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा संघीय सांसद राजेन्द्र लिङ्देनले नेताको स्वार्थको लडाईले राजतन्त्र र हिन्दु राष्ट्रको अन्त्य भएको बताएका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा राप्रपा र राप्रपा संयुक्तबीचको एकता घोषणासभामा बोल्दै नेता लिङ्देनले राप्रपा मिल्न नसक्दा मुलुकमा गणतन्त्र र धर्म निरपेक्षता आएको जिकिर गरेका छन् ।

‘तपाईहरु नजुधेको भए, हामीलाई नजुधाएको भए, हामीलाई गाईगोरुजस्तो लुरुलुरु पछि नहिँडाएको भए यो देशमा गणतन्त्र आउँथ्यो ? संघीयता आउँथ्यो ?’ उनले प्रश्न गरे ।

लिङ्देनले राप्रपा फुटका कारण कांग्रेस र कम्युनिस्टले फाइदा लिएको बताउदै भर्खर बहुदल आउँदैमा पार्टी दुई चिरा भएको र त्यतिबेलादेखि नेताहरुमा चेत नआएको समेत आरोप लगाएका छन् । ‘तपाईहरुले आफूलाई मात्र बर्बाद गर्नुभएन, बहुदल आउँदा तपाईहरुले कांग्रेस– कम्युनिस्टको विकल्प दिनुहुन्छ भनेर आशा गरेका थिए’ उनले भने ‘अब पनि चेत आउनुपर्दैन ?’

अहिलेको एकता राप्रपाका नेतृत्वका लागि अन्तिम अवसर भएको पनि लिङ्देनले बताए । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति आस्था राख्ने र पार्टी बाहिर रहेर नेताहरुबाट आशा गर्नेहरुलाई धोका दिने काम नगर्नुस्’ उनले भने ‘अब पनि धोका दिने हो भने देश र धर्मलाई धोका दिनु हो । ’

नेता लिङ्देनले अब यस्तो मौका फेरि नआउने भन्दै नेताहरुले सानो सानो कुरामा भलगडा नगर्ने र चित्त दुखाउँदैनौं भनेर प्रतिबद्धता जनाउनुपर्ने बताए ।

थप जानकारी