राष्ट्र हितमा समर्पित
आइतवार, चैत्र २३, २०७६

आफ्नो जमिन भारतमा परेपछि स्थानीयद्वारा सीमा स्तम्भ तोडफोड

आइतवार, २ चैत्र २०७६ १०:४६

कञ्चनपुर : कञ्चनपुरको वेलडाँडीमा नेपाली भूमिमा सीमा स्तम्भ गाडिएको भन्दै स्थानीयले तोडफोड गरेका छन् । नेपाल–भारत संयुक्त सर्भे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको पिल्लर स्थानीयले तोडफोड गरेका हुन् ।

बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा नेपाल भारत संयुक्त सर्भे टोलीले निर्माण गरेको ७८३ नम्बर पिल्लरको ४ नम्बर सहायक स्तम्भ स्थानीयले हतौडा र ढुङ्गा प्रहार गरेर शनिबार तोडफोड गरेका छन् ।

साढे पाँच दशकदेखि बस्दै आएको उक्त वस्तीका स्थानीयको जमिन भारतमा परेपछि विवाद हुँदै आएको थियो । विवादकाबीच पिल्लर गाडिएपछि स्थानीय आक्रोशित भएका हुन् ।

नेपालीको लालपुर्जा रहेको जमिनमा सीमा स्तम्भ गाडेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा, पूर्व सांसद दिवान सिह विष्ट, बहादुर सिह थापा सहितको टोलीले शनिवार सीमा क्षेत्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्थानीयले भारतले सीमा मिच्न लागेको भन्दै उक्त सीमा पिलर तोडफोड गरेका हुन् ।

नेपालीको जमिनमा एउटा सीमा पिलर गाडिएको र अर्को गाड्नका लागि तयारी अवस्थामा राखेको देखिएपछि जनताले आक्रोश पोखेको कांग्रेसले जनाएको छ । स्थानीयले सरकारले सीमा सुरक्षा गर्न नसकेको भन्दै बिरोध समेत गरेका छन् ।

कांग्रेस नेताहरुले रोक्ने प्रयास गरेपनि आक्रोशत भिडले सीमा पिलर फोडेको बताएका छन् । सीमा पिलर तोडफोड भएपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । संयुक्त सर्वे टोलीले उक्त क्षेत्रमा सीमा पिलर गाड्नका लागि खाल्डो खन्न सुरु गरेपछि नै स्थानीयले विरोध गर्दै आएका थिए । सोही कारण सर्भेको काम रोकिएको थियो । संयुक्त टोली सो क्षेत्रमा काम गर्न छाडेर कैलालीको खगौला नाकातर्फ गएको छ ।

थप जानकारी