राष्ट्र हितमा समर्पित
आइतवार, चैत्र २३, २०७६

यशुको नाममा कोरोना नष्ट गरिने भ्रम फैलाउने पास्टर कास्की प्रहरीको नियन्त्रणमा

मङ्गलवार, ११ चैत्र २०७६ १०:२७

पोखरा । कोरोना भाइरसलाई नाश गरिदिने झुठो दाबी गर्दै भ्रम फैलाउने क्रीस्चियन पास्टर केशव आचार्य पक्राउ परेका छन् ।

कास्की प्रहरीले पास्टर आचार्यलाई भ्रम फैलाएको कारण पोखरा महानगरपालिका वडा नम्बर २९ लेखनाथबाट पक्राउ गरेको हो ।

पास्टरले यशुको नाममा चर्चमा सोझासाझा नागरिकलाई जम्मा पारेर कोरोना भाइरस नष्ट पारिदिने भन्दै भ्रम फैलाएको, यस्तो कार्यबाट जनतामा कोरोना भाइरलबारे भ्रम पैदा हुने र रोकथाममा अवरोध समेत पुग्न सक्ने हुँदा अफवाह फैलाएको कसुर अपराधमा पास्टरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दान बहादुर कार्कीले बताए । राज्य पुरै लक डाउनको अवस्थामा महामारी नियन्त्रणमा सबै जनताले सहयोग गर्न अपिल गर्दै एसपी कार्कीले गलत अफवाह फैलाउने, सामाजिक संजालमा गलत सूचना प्रवाह गर्ने लगायत महामारीको अवस्थामा कानुन विपरित जानेलाई कानुनी दायरामा ल्याईने बताएका छन् ।

सामाजिक संजालमा झुठो भ्रम फैलाउने भिडियो सामाग्री सार्वजनिक भए लगत्तै पास्चर आचार्यको खोजी शुरु गरेको थियो ।

पास्चर आचार्यले चर्चमा विभिन्न किसिमको रोग तथा दुखाइ समेत ठिक पारिदिएको झुठो भिडियो समेत सार्वजनिक भएको थियो ।

पास्टरलाई मुलुकी अपराध संहिताको दफा ७० बमोजिम झुठो अफवाह फैलाएको कसुरमा म्याद थप गरि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाईने कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार के.सीले बताएका छन् ।

पास्टर आचार्यले कोरोना भाइरसलाई नष्ट गरेको, दुखाई निको पारेको, पाइल्स लगायतको उपचार गरेको झुठो र भ्रम पुर्ण भिडियो सामाग्री सामाजिक संजालमा भाइरल भएको थियो ।

झुठ्ठा अफबाह फैलाउन नहुने भनी दफा ७० मा कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुश गर्न हुँदैन भनी उल्लेख गरिएको छ भने सोही दफाको उपदफा २(१) मा सो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ भनी उल्लेख गरिएको छ । यस कसुर बमोजिम पास्टर आचार्यको कसुर ठहर भए १ वर्षसम्म कैद हुनेछ ।

थप जानकारी