राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

शङ्खरापुरमा चार एकान्तवास र नौ क्वारेन्टाइन

शनिवार, १५ चैत्र २०७६ ११:५२

काठमाडौँ, चैत  १५ गते । शङ्खरापुर नगरपालिकाले कोरोनाको सङ्क्रमणबाट बचाउन चार श्यया एकान्तवास (आइसोलेसन) र नौ श्यया क्वारेन्टाइनको व्यवस्था गरेको छ ।

सुष्मा कोइराला मेमोरियल र पिपुल्स लाइफ केयर अस्पतालमा दुई–दुई एकान्तवासको व्यवस्था गरिएको नगरप्रमुख सुवर्ण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । नगरपालिकाको वडा नं ९ स्थित इन्द्रायणीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा नौ श्ययाको क्वारेन्टाइन व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकाले वडावडामा गठन भएका विपद् व्यवस्थापन समितिमार्फत मास्क, स्यानिटाइजर वितरण र साबुनपानीले हात धुने जनचेतना फैलाउन थालेको छ । मुख्यमुख्यचोकमा पानी र साबुनसहित हात धुने व्यवस्था गरिएको छ । मास्क, स्यानिटाइजरजस्ता कोरोनाबाट बच्न आवश्यक सुरक्षा सामग्री नगरभित्रै उत्पादनका लागि पहल गर्ने निर्णयसमेत नगर कार्यपालिकाले गरेको छ ।

बाहिरबाट नगर छिर्ने व्यक्तिका लागि सहयोग कक्षको स्थापना गर्न लागिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । खाद्य सङ्कट हुन नदिने गरी तयारी थालिएको नगरपालिकाले जनाएको छ । (रासस)

थप जानकारी