राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १०, २०७९

कार्ल मार्क्सको प‍ोस्टमार्टम

-फणीन्द्र नेपाल

शुक्रवार, २६ बैशाख २०७७ १०:३७

कविता

काठमाडौंको सिंहदरबारमा कार्ल मार्क्सको दिनदहाडै हत्या गरिएको छ
हत्यापछि उनीहरू कालो सिसा भएको गाडीमा चढेर अज्ञात ठाउँतिर भागेका छन्
हत्याराहरूले नकाब लगाएका हुँदा परिचय खुल्न नसके पनि घटनास्थलमा एउटा हँसिया र एउटा हथौड़ासँगै ह्विस्कीको बोतल , टेलिफोनको एक मिटर तार , अमेरिकी पेस्तोलको गोलीको खोका र एउटा भाला फेला परेको छ
अँ , एउटा धारिलो छुरा पनि

पोस्टमार्टमको रिपोर्टअनुसार
टेलिफोनको तारले मार्क्सको घाँटी कसेर हँसियाले रेटिएको छ र फलामको हथौड़ाले हानेर उनको टाउको फुटाइएको छ
उनको छातीमा गोली लागेका प्वालहरू छन् र पिठ्युँमा भाला रोपिएको छ
अनि ह्विस्कीको बोतल फुटाएर पेटमा घोपिएको छ
मरेपछि पनि आफूतिर हेरिरह्यो भनेर दुइटै अाँखामा छुरा धसिएको छ
लासको छेवैमा हँसियाहथौडा अङ्कित झन्डा मार्क्सको रगतमा लतपतिएको छ

कसले गर्यो होला कार्ल मार्क्सको हत्या ?
प्रहरीको अनुसन्धान जत्था कुनै सूत्रको खोजीमा छ

पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ताले भने
कार्ल मार्क्सको हत्या उनकै चेलाहरूले गरेका रहेछन्
पहिलो हत्यारा , जसले भ्रष्टाचारका प्रत्येक अारोपीलाई ढाल बनेर बचाएको छ
दोस्रो हत्यारा , जसले एउटा निजी दूरसञ्चार कम्पनीको अधिकांश सेयर आफ्नो नाममा पारेको छ
तेस्रो हत्यारा , देशका अधिकांश सुपर मार्केटहरूमा जसको बहुसंख्यक सेयर छ
चौथो हत्यारा , बिचौलिया पनि हो , जसले मेलम्चीलाई पर धकेल्दै पानीको व्यापारमा एकाधिकार कायम गरेको छ
पाँचौँ हत्यारा, जसले सडकको अलकत्रा खाएको छ र यससँगै ऊ भूमाफिया पनि हो
छैटौँ हत्यारा , जसका धेरै वैदेशिक रोजगार कम्पनी र मेडिकल कलेजहरू छन्
सातौँ हत्यारा , जसको मुट्ठीमा सेयर मार्केट , हुन्डी , म्याच फिक्सिङ र क्यासिनोहरू छन् ।
यिनीहरू यो देशलाई पर्दापछाडिबाट चलाउँछन्
माफ गर्नुहोला पत्रकार महोदय , यिनीहरू कति शक्तिशाली छन् भने
प्रहरी प्रतिष्ठान उनीहरूलाई तपाईंहरूसमक्ष सार्वजनिक गर्न असमर्थ छ ।

काठमाडौंको सिंहदरबारमा कार्ल मार्क्सको दिनदहाडै हत्या गरिएको छ ।

थप जानकारी