राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

जारी लकडाउनमा मुसहरलाई नयाँघर उपहार

शनिवार, २७ बैशाख २०७७ ९:४६

महोत्तरी, वैशाख २७ गते ।  जारी लकडाउनभित्रै महोत्तरीको गौशाला नगरपालिका–१२ गैरीटोल मुसहरीका १६ घरपरिवार मुसहरले नयाँ पक्की घर उपहार पाएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालन गरेको ‘तराई मधेश समृद्धि कार्यक्रम’अन्तर्गत त्यहाँका १६ घर मुसहरले नयाँ पक्की घर उपहार पाएका हुन् । त्यहाँका १६ परिवार मुसहर शुक्रबार नै पराले झुप्रा बस्तीबाट पोकापन्तरा बोकेर बाजागाजा बजाउँदै नयाँ घरमा सर्दा मुसहर बस्तीमा उत्सव छाएको थियो । नयाँ घर पाएपछि उनीहरु दङ्ग छन्, प्रफुल्लित छन् ।

एउटै बस्तीभित्र एकै आकारका १६ वटा नयाँ घर छन् । भूकम्प प्रतिरोधी सबै घरमा इँटाको गारो र निलो रङको जस्तापाताका छाना लगाइएको छ । शौचालय, सडक, विद्युत् र खानेपानी सुविधासहितको नयाँ बस्तीमा बरण्डासहितका फराकिला तीन कोठा छन् । सुविधासम्पन्न १६ घरको एकीकृत नमूना नयाँ बस्ती अहिले परैबाट चम्किरहेको देखिन्छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रु एक करोड र महोत्तरी–१ ‘ख’ का प्रदेशसभा सदस्य भरतप्रसाद साहको क्षेत्र विकास कोषको रु छ लाख ६६ हजारसहित जम्मा रु एक करोड छ लाख ६६ हजारको लागतमा मुसहरका लागि १६ घर तयार भएको निर्माण कार्यको रेखदेख र समन्वय गर्नुभएका गौशाला–१६ का वडाध्यक्ष कृष्णबहादुर विश्वकर्माले जानकारी दिनुभयो । एक घर निर्माणमा रु छ लाख ६६ हजार खर्च भएको विश्वकर्माको भनाइ छ ।

लकडाउनले घेरिएर बाहिर कामकाज गर्न जान नपाएर खानपिउन नै समस्या भइरहेका बेला नयाँ पक्की घर पाएपछि मुसहर परिवार दङ्ग देखिएका छन् । “हजुर घाम र पानी नछेल्ने पराले झुप्रामै हाम्रो जिन्दगी बित्यो”, नयाँ घरमा सरेपछि ५० वर्षीय दशैयाँ सादाले भन्नुभयो, “अहिले यी घर पाएपछि हामीलाई हेर्ने पनि सरकार रछ भन्ने लागेको छ ।”

पुस्तौँदेखि अशिक्षा, गरिबी, भोक र शोकमै डुब्दै आएका मुसहरका लागि नयाँ पक्की घर अहिले नसोचेको उपहार बनेको छ । गौशाला नगर क्षेत्रका मुसहरका लागि सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर सुरक्षित आवास कार्यक्रम निरन्तर सञ्चालन गरिरहने नगरप्रमुख शिवनाथ महतोको भनाइ छ । अब एक वर्षभित्रै नगरका ४, ६ र ८ नं वडाका ७१ परिवार मुसहरलाई नयाँ पक्की घरमा सारी सकिने नगरप्रमुख महतोले बताउनुभयो । प्रदेश नं २ सरकारको जनता आवास कार्यक्रमअन्तर्गत यो काम शुरु भइसकेको महतोको भनाइ छ ।

नयाँ बस्ती बसाउन १८ कठ्ठा जग्गाको व्यवस्थापनमा गौशाला–१२ का स्थानीय माधव मोक्तानले रु पाँच लाख र १२ नं वडा समितिले विभिन्न व्यक्ति र सङ्घसंस्थासँग समन्वय गरेर रु तीन लाख व्यवस्था गरेको गौशाला नगर कार्यपालिका कार्यालयले जनाएको छ । (रासस)

थप जानकारी