राष्ट्र हितमा समर्पित
शनिवार, आश्विन १०, २०७७

एन्फा अध्यक्ष शेर्पाविरुद्ध कारबाही गर्न प्रधानमन्त्रीसमक्ष माग

मङ्गलवार, २० जेठ २०७७ ८:२८

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाको विधान तथा नेपालको कानून उल्लंघन गरेको भन्दै चार जिल्लाका फुटबल संघका अध्यक्षहरूले प्रधानमन्त्रीसमक्ष कारबाहीको माग गरेका छन्।

एन्फा अध्यक्ष शेर्पाले दिएको अभिव्यक्ति नेपालको कानून, विश्व फुटबलको सर्वोच्च निकाय फिफा, एशियाली फुटबल महासंघ (एएफसी) र एन्फाको विधानविपरीत भएको भन्दै काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरुले सोमबार कारबाहीको माग गरेका हुन्।

चार जिल्ला फुटबल संघका अध्यक्षहरूले एन्फा अध्यक्ष शेर्पा स्वेच्छाचारी ढंगले चलेको तथा व्यक्तिगत लाभ हासिल गर्दै फुटबलको हित विपरीत कार्य गर्दै आएको आरोप समेत लगाएका छन्।

१४ जेठमा बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बिमलप्रसाद श्रीवास्तवले शेर्पामाथि छानबिन गरी कारबाहीको माग गरेका थिए।  उनले एन्फा अध्यक्ष शेर्पाले नेपाली समाजमा विभेद्को बीजारोपण गरेको आरोप लगाएका थिए।

एन्फा अध्यक्ष शेर्पाले यसो भनेका थिए ‘‘हामीले नेपाल आर्मीसँगको सहकार्यमा तराईका चार जिल्ला सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा ग्रासरूट फुटबल कार्यक्रम शुरू गरेका छौं। त्यहाँ किन शुरू गर्‍यौंभन्दा दुईवटा कारण छन्। एउटा तराईको बच्चाहरूलाई फुटबलप्रति आकर्षण गर्नका लागि, अर्को कुरा राष्ट्रियता सिकाउनका लागि। किनभने तराईतिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम छ’’, एन्फा अध्यक्ष शेर्पाले अन्तर्वार्तामा भनेका छन्, ‘‘आर्मीको ब्यारेक आउँदा कम्तीमा राष्ट्रिय गीत गाउने, नेपालको विषयमा चर्चा हुने र फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले पनि हामीले काम गरेका हौं। त्यसैले ग्रासरूट कार्यक्रम सफलताको शिखरमा पुगेको छ।’’

थप जानकारी