राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

चलचित्र रिलिजको वातावरण बनाउनेबारे प्रदिप उदयले दिए यस्ता सुझाव

बुधवार, २८ जेठ २०७७ १४:२३

काठमाडौं । नेपाली चलचित्र क्षेत्र पहिलेजस्तै चलायमान कसरी होला ? हलमा चलचित्र रिलिजको वातावरण कसरी बनाउने ? के पहिलेजस्तै दर्शक हलमा ल्याउन सहज छ त ? लकडाउन खोलेपछि हलमा कुन चलचित्र चलाउने ?

यतिबेला चलचित्र क्षेत्रमा यस्ता प्रश्नहरू थुप्रै छन् । जसको समाधान चाँडोभन्दा चाँडो खोज्न आवश्यक छ । किनकि हल खुले पनि निर्माताहरू तत्काल चलचित्र चलाउन तयार छैनन् । यस्तो अवस्थामा दर्शकलाई हलसम्म आकर्षित गर्न कस्ता खालका रणनीति बनाउने ? सबैले सोच्नुपर्ने विषय बनेको छ ।

यो पनि पढ्नुहोस चलचित्रलाई अतिप्रभावित क्षेत्रमा राखेर कर छुट दिन उदयको माग

चलचित्र संघका निवर्तमान अध्यक्ष एवं निर्माता प्रदीप कुमार उदय चलचित्र क्षेत्रलाई चलायमान बनाउन सबैको साथ जरुरी रहेको बताउँछन् । उदय भन्छन्–‘करिब ३ महिनाको लागि १० वटा चलचित्र छनोट गरी रिलिजको व्यवस्था गर्नुपर्छ । ठूलो पर्वमा २ वटा र अरू बेलामा एउटामात्र चलचित्र रिलिजको व्यवस्था मिलाउनुपर्छ ।

यसरी छनोट गरिएका चलचित्रलाई चलचित्र विकास बोर्डले अनुदान र प्रोत्साहनको प्याकेज ल्याउन आवश्यक छ । यो संकटको समयमा चलचित्र रिलिज गर्ने निर्माताको व्यापारलाई सहज बनाउने वातावरण निर्माण गर्न सरोकारवाला सबैले सक्दो सहयोगात्मक भूमिका निर्वाह गर्नु आवश्यक छ ।’

उदयले यसो गर्दा चलचित्र क्षेत्र चाँडो चलायमान हुने समेत विश्वास व्यक्त गरेका छन् । उदयले, कम्तीमा ३ महिनासम्मका लागि नेपाली चलचित्र रिलिजका लागि चलचित्र संघ र चलचित्र निर्माता संघ बसेर सहमति गर्नुपर्ने आवश्यकता समेत औँल्याएका छन् ।

दुई संस्थाको छलफलमा निर्माता, वितरक र चलचित्र प्रदर्शक सबैलाई प्रोत्साहन नीति लिएर अगाडि बढ्नुपर्ने पनि उदयको सुझाव छ । उनले लकडाउनको समयमा चलचित्र हेर्ने दर्शकको संख्या बढेको भन्दै स्तरीय नेपाली चलचित्र निर्माणमा पनि जोड दिएका छन् । उनले विदेशबाट फर्किने लाखौं युवाहरू नेपाली चलचित्रको वास्तविक दर्शक पनि भएकाले आशावादी हुन आग्रह गरेका छन् ।

थप जानकारी