राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

चुनाव चिन्ह दिने विषयमा आयाेगको लापरबाही, विकृति बढ्ने चिन्ता: सांसद लिङ्देन

बिहिवार, ४ भाद्र २०७७ २२:५३

काठमाडाैं ।  राप्रपा सांसद राजेन्द्र लिङदेनले पछिल्लाे समय दर्ता भएका नयाँ दलहरुलाई निर्वाचन आयाेगले पुराना दलहरुसँग मिल्दाे जुल्दाे चुनाव चिन्ह दिएकाेप्रति आपत्ति जनाएका छन्  ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सांसद लिङ्देनले  हाल कायम रहेकै पार्टीहरुसँग मिल्दाे जुल्दाे चुनाव चिन्ह नयाँ आउने दललाई पनि दिइएकाे भन्दै आपत्ति जनाएका हुन् ।

मंगलबार “उदाउँदो सूर्य”चिन्ह लिएर १३२औं दलका रूपमा नेकपा एमाले दर्ता भएसँगै सांसद लिङ्देनले फेसबुकमा असन्तुष्टि पाेखेका हुन् ।

यसअघि पनि निर्वाचन आयाेगले राप्रपाकै चिन्हसँग गाई जस्तै देखिने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी लाेकतान्त्रिकलाई साँढे गाेरु चुनाव चिन्ह दिएकाे थियाे ।

चुनावमा जनताको एकमत पनि बदर नहोस् भन्ने तर्फ ध्यान दिनु पर्ने निर्वाचन आयाेगले एकै प्रकारका चुनाव चिन्ह दिएर जनतामा भ्रम छर्ने काम गरेकाे उनकाे आराेप छ ।

‘मतदाताले जसलाई मत दिन चाहेको हो उसैलाई प्राप्त होस भन्ने कुरामा निर्वाचन आयोगको ध्यान जानु पर्ने हो तर यसतर्फ आयोग उदासिन देखिन्छ,’ लिङ्देनले फेसबुकमा  अगाडि लेखेका छन्,’ कसैलाई गोलाकार भित्र “हलो”,कसैलाई चतुर्भुज भित्र ‘हलो’, ‘गाई’ चिन्ह हुँदाहुँदै ‘गाई’ जस्तै देखिने ‘साँढे’ चुनाव चिह्न बाँड्दै बस्ने आयोगले थाहा पाउन पर्याे यसरी मतदाता झुक्किने गरी बाँडिने समान प्रकृतिका चुनाव चिन्ह कुनै दल विशेषको मात्र समस्या होइन ।’

उनले यस्ताे प्रवृति पछि गएर विकृति बन्ने खतरा रहेकाे भन्दै हाेस् पुर्याउन आग्रह गरेका छन्,’ निर्वाचन आयोग,सरकार,ठूला हुँ भन्ने राजनीतिक दलहरू सचेत नहुने हो भने यो विकृति अन्यमा पनि संक्रमण हुनेछ । गोलाकार भित्र ‘सूर्य’,गोलाकार भित्र ‘रूख’ चुनाव चिन्ह माग लिएर पार्टी दर्ता गर्न आउँदैनन् भन्ने के ठेगान छ ? त्यसबेला आयोगसँग के जवाफ हुन्छ ? बेलैमा ध्यान पुगोस।’

थप जानकारी