राष्ट्र हितमा समर्पित
मङ्गलवार, आश्विन १३, २०७७

पश्चिम नेपालका थारु समुदायमा ‘अट्वारी पर्व’ मनाइँदै

आइतवार, ७ भाद्र २०७७ १४:४४

शेरबहादुर सिंह

महेन्द्रनगर, भदौ ७ गते । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको थारु समुदायको अट्वारी पर्व पश्चिम नेपालका थारु समुदायको घर घरमा मनाइँदैछ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी वर्त बस्ने परम्पराअनुसार थारु समुदायले अट्वारी पर्व मनाइरहेका छन् ।

दुई दिनसम्म मनाइने अट्वारी पर्वमा हिन्दू महिलाको महान धार्मिक चाड हरितालिका तीजपछिको शनिबार मध्यरातिमा दर (भिन्सर्या) खाएर थारू समुदायको विधिवत रूपमा शुरुआत हुने गरेको छ । अट्वारी पर्व मनाउनेबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको कञ्चनपुरको बेलौरी नगरपालिकाका उपप्रमुख चित्रकुमारी चौधरीले बताउनुभयो ।

कोरोना सङ्क्रमणका कारण जिल्लामा निशेधाज्ञा जारी गरिएको भएपनि थारु बस्तीका घर–घरमा अट्वारी मनाइरहेको उहाँले बताउनुभयो । “यो कुनै जमघट गरेर मनाइने पर्व होइन” उहाँले भन्नुभयो–“घरमै मनाइने भएकाले केही फरक पर्दैन ।” उपप्रमुख चौधरीले लामो समयदेखि थारु समुदायले मनाउँदै आएको अटवारी पर्व युवा पुस्ताले पनि आत्मसाथ गरेको बताउनुभयो ।

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ । अर्कोथरि मत अनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ ।
भीम नेपालको सुर्खेत जिल्लामा रहेको काक्रेबिहार घुम्न आएका बेला शत्रुबाट राजा दंगिशरण चौधरीमाथि आक्रमण भएको थियो । त्यतिबेला रोटी पकाइरहेका भीमले काम छोडेर भोकभोकै राजा दंगिशरणलाई सहयोग गरेका थिए ।

त्यसैगरी महेन्द्रनगरका बेदप्रकाश चौधरीले अट्वारीको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिएको प्रति आभार प्रकट गर्नुभयो । “थारु कला संस्कृति जगेर्ना गर्न पनि सरकारले सहयोग गर्नुपर्छ ।” चौधरीले भन्नुभयो, “पुराना रीतिरिवाज धार्मिक र पर्यटकीय रुपले पनि जोगाइराख्न आवश्यक हुन्छ ।”

दंगिशरणले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ । अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् ।

परम्परागत रुपमा मनाइँदै आएको पर्व आइतबारको दिन मनाउने भएकाले ‘अट्वारी’ भन्ने गरिएको हो ।“यो हाम्रो माघीपछिको दोस्रो ठूलो पर्व हो ।” चौधरीले भन्नुभयो–“दशौं पुस्तादेखि अट्वारी पर्व मनाउँदै आएका छौं ।” आइतबार दिनभर व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अन्दीको रोटी खाने गर्दछन् ।

वर्त बसेका बर्तालुहरुले फलफूललगायतका पकुवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने चलन छ ।

अट्वारीको दोस्रो दिन अर्थात सोमबार बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । पूजापाठपछि ब्रतालुले आफ्नो खानाको परिकारबाटआधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन रही आएको छ । सोमबार बिहानको भोजनलाई थारु भाषामा ‘फ्राहार’ भनिन्छ ।

अघिल्लो दिन (आइतबार) र दोस्रो दिन (सोमबार) ब्रतालु दाजुभाइले आफूले खानुपूर्व दिदीबहिनीको लागी फलफूल तथा खानाका परिकारबाट छुट्याएको परिकार विवाहित छोरीचेलीबेटीलाई यसै दिन दिने चलन छ । छोरीचेलीलाई वर्षभरिको सम्झनास्वरूप पठाउने कोसेलीलाई ‘अग्रासन’ भनिन्छ ।

विवाहित छोरीचेलीले दाजुभाइहरूले आफ्नो भागबाट दिदीबहिनीका लागि राखेको खानाको परिकारलगायतका पकवानसहितको कोसेली आउला भनेर दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनीहरु यसै पर्वको अवसरमा दाजुभाइसँग भलाकुसारी गर्ने मौका पाउँछन् । अट्वारी पर्व पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाका थारू समुदायले मनाउने गरेका छन् । (रासस)

थप जानकारी