एजेन्सी । आपत्कालीन अवस्थामा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापी विधि अपनाउन अमेरिकामा अनुमति प्रदान गरिएको छ ।
अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आइतबार प्लाज्मा थेरापीबाट उपचारका लागि अनुमति दिएको हो । उसले यसरी उपचार गर्दा जोखिमभन्दा फाइदा बढी हुने जनाएको छ ।
एफडीएका अनुसार अहिलेसम्म अमेरिकामा ७० हजारभन्दा बढी कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार भइसहेको छ ।
आइतबार ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले प्लाज्मा थेरापीले अनुमति पाउनु ‘ऐतिहासिक’ भएको बताए । कोरोना भाइरसलाई पुन: एक पटक ‘चिनियाँ भाइरस’ संज्ञा दिँदै उनले भने, ‘आज म वास्तवमै चिनियाँ भाइरसविरुद्धको हाम्रो लडाइँको एउटा ऐतिहासिक घोषणा गर्दैछु जसले अनगिन्ती जीवनहरू बचाउनेछ । आजको कदमले कोरोना संक्रमितको उपचारमा पहुँच बढाउनेछ ।’
प्लाज्मा थेरापीबाट उपचार गरेपछि अमेरिकामा मृत्युदर ३५ प्रतिशतसम्म कम हुने ट्रम्पको दावी छ । उनले कोरोना भाइरसको संक्रमणपछि निको भएका व्यक्तिहरूलाई प्लाज्मा दान गर्न आग्रह गरेका छन् ।