राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

सात कोरोना सङ्क्रमितको सुरक्षित सुत्केरी गराउन सफल

शुक्रवार, १९ भाद्र २०७७ १६:१७

भदौ १९ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सात जना कोरोना सङ्क्रमित गर्भवतीको सुरक्षित सुत्केरी गराइएको छ ।

अस्पतालमा सुत्केरीका लागि आउनुभएका सात जना गर्भवतीकाे जोखिमबीच सफल सुत्केरी गरिएको प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. सुबी बस्न्यातले जानकारी दिनुभयो ।

डा. सुबी बस्न्यात र उहाँ नेतृत्वको टोलीलाई कोभिड–१९ को त्रासका बीच सात गर्भवतीलाई सुत्केरी र शल्यक्रिया गर्नु सहज थिएन । यही महामारीको सङ्कटमा उक्त टोलीले कोरोना सङ्क्रमित पाँच जना गर्भवतीलाई नर्मल सुत्केरी र दुई जनालाई शल्यक्रिया गर्न सफल भएको छ ।

सामान्य सुत्केरीलाई शल्यक्रिया गर्दाको जोखिम हुन्छ । यसपटक आफ्नो ज्याननै धरापमा राखेर कोरोना सक्रमितको ज्यान जोगाएर सेवा गर्न पाएकोमा डा. सुबीसहितको टिम खुशी भएको छ ।

शुरुमा सिंजा गाउँपालिकाको कोरोना सङ्क्रमित गर्भवतीलाई सुत्केरी गराउँदा निकै डर लागेको थियाे तर पछि बिस्तारै डर कम हुँदैगएको र सफल भएको जनाइएको छ ।

प्रतिष्ठानले सङ्क्रमणको जोखिमको समयमा नर्स तथा शल्यक्रिया कक्षका सबै स्टाफको ठूलो भूमिका रहेको जनाएको छ । टोलीले अहिले कालीकोट महावै गाउँपालिका, जुम्ला गुठिचौर, सिंजा, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका कोरोना सङ्क्रमित सात गर्भवतीको शल्यक्रिया र सुरक्षित सुत्केरी गराएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको तथ्याङ्कमा छ ।

सङ्क्रमित गर्भवतीको सुत्केरी तथा सल्यक्रियामा स्त्रीरोग विशेषज्ञ डा. राजीव शाह, एनेस्थेसियोलोजिष्ट डा. रविन खातुङ लगायतको टोलीले सफल पारेको छ । स्त्रीरोग विशेषज्ञ डा. शाहले सङ्क्रमित सात गर्भवतीमध्ये चारको सामान्य सुत्केरी, दुईको शल्यक्रिया र एक जना सिभियर प्रिक्लाम्सिया (गर्भपति अवस्थामा उच्च रक्तचापबाट हुने समस्या) भएको गर्भवतीको पनि उपचार गराइएको जानकारी दिनुभयो ।

बन्दाबन्दीमा अस्पतालमा हुने सुत्केरी दर बढ्यो
पहिले प्रति महिनामा सुरक्षित गर्भपतनका लागि प्रतिष्ठानमा १०–१५ जना आउने गरेकोमा बन्दाबन्दीमा ३०–४० जना आउने गरेका प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा आएका केहीलाई अस्पताल आइसकेपछि परीक्षण गरेर कोरोना पुष्टि भएको र केहीलाई घरबाटै ज्वरो आएर लक्षणसहित आएका जनाइएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार बन्दाबन्दीका कारण गाउँमा स्वास्थ्य सेवा सहजै पाउन नसकेर अहिले गर्भपतनका केसहरू पनि बढ्न थालेका छन् ।

स्वास्थ्यकर्मीको सङ्घर्ष

काडमाडौँ महानगपालिका १५ छाउनीका स्थायी निवासी स्त्रीरोग विशेष डा. सुबी बस्न्यात अढाई वर्षको छोरी छोडेर जुम्ला प्रतिष्ठान आएको अहिले सात महिना भयो । यो समयमा गर्भवती महिलाहरूको केस बढी आउने भएकोले घर जान नपाइको उहाँले बताउनुभयो ।

डा. सुबीको श्रीमान् एनेस्थेसियोलोजिष्ट डा. रविन खातुङ् पनि प्रतिष्ठानमै कार्यरत हुनुहुन्छ । कर्णालीका गर्भवतीसहित सबै महिलाका दुःख र भावना बुझ्दै आउनुभएकी डा. बस्न्यात र उहाँका श्रीमान् विगत सात वर्षदेखि प्रतिष्ठान जुम्लामा काम गर्दै आउनुभएको छ ।

डा . सुबी र रविन्द्र जस्तै स्वास्थ्यकर्मीहरू अहिले उच्च जोखिमा छन् । अरुलाई भौतिक दुरीको कायम गर्न सचेतना भइरहेको समयमा स्वास्थ्यकर्मी सङ्क्रमितसँगै काम गरिरहेका छन् । अहिले कर्णाली प्रतिष्ठानका सयौँ स्वास्थ्यकर्मी, कर्मचारी कोरोनाविरुद्धको लडाइँमा छन् ।

थप जानकारी