राष्ट्र हितमा समर्पित
मङ्गलवार, आश्विन १३, २०७७

लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

बुधवार, ३१ भाद्र २०७७ ९:३८

मुग्लिन, भदौ ३१ गते। पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो । सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ ।

पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताउनुभयो । “खासै धेरै लेदो झरेको छैन तर झर्ने क्रम रोकिएको पनि छैन”, तामाङले भन्नुभयोे, “हटाउन शुरु गरेको दुई घण्टामा लेदो हटाएर सकिन्छ ।” निरन्तर पानी परिरहेकाले सो सडकखण्ड पटकपटक अवरुद्ध भइरहेको छ । (रासस)

थप जानकारी