राष्ट्र हितमा समर्पित
सोमवार, कार्तिक १०, २०७७

अनसनमा रहेका डा. गोविन्द केसीले जुम्ला छाडे

सोमवार, ५ आश्विन २०७७ १७:१९

काठमाडौं । स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको सुधारको माग राख्दै १९ औं पटक सत्याग्रहमा बसेका डा. गोविन्द केसीले जुम्ला छाडेका छन् । अनसन बसेको आठौँ दिनमा सोमबार जुम्ला छाडेको डा. केसीले जानकारी दिएका छन् ।

आफ्ना मागहरु पूरा गर्न कुनै प्रयास नगरेको सरकारले उल्टै रातारात अपहरण शैलीमा आफूहरु सत्याग्रहस्थलबाट जबर्जस्ती अस्पतालमा सारिएको भन्दै उनले कुनै अप्रिय घटना नहोस् भनेर जुम्ला छाडेको जानकारी दिए ।

दुई वर्ष अघिजस्तो अप्रिय घटना नहोस् भनेर जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहीँबाट सत्याग्रह जारी राख्ने निर्णय गरेको डा. केसीको भनाइ छ ।

डा. केसीले जारी गरेको प्रेस विज्ञप्ति :

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि हामी १९औं सत्याग्रह गरेको आज आठौं दिन पुगिसकेको छ । तर यसबीच हाम्रा मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल गरेको छैन । बरु उल्टै रातारात अपहरण शैलीमा हामीलाई सत्याग्रह स्थलबाट जबर्जस्ती अस्पतालमा सारिएको छ ।

दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड ग¥यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं ।

यसबीच जुम्लामा रहेर हाम्रो सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद प्रकट गर्न चाहन्छौं । साथै हामीले राखेका सबै मागहरु पूरा गराएर मात्रै यो सत्याग्रह टुंगिने जानकारी पनि गराउन चाहन्छौं ।

डा गोविन्द केसी
जुम्ला
२०७७ असोज ५

थप जानकारी