राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

राप्रपाको निर्णय: चुनाव चिन्ह हलो, आगामी बैशाख २५ गतेदेखि महाधिवेशन

मङ्गलवार, ६ आश्विन २०७७ १६:५२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष श्री पशुपति शम्शेर ज.ब.रा.को अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्य समितिकोे बैठकले चुनाव चिन्ह हलो हुने निर्णय गरेको छ ।

अध्यक्ष श्री कमल थापा र अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीसमेतको उपस्थितिमा भएको बैठकले पार्टीको चुनाव चिन्ह हलो कायम गर्ने र साविक राष्ट्रिय प्रजातन्त्र पार्टीको “गाई” अंकित रातो, पहेँलो र निलो रंगको झण्डा एकिकृत पार्टीको झण्डा हुने निर्णय गरेको हो ।

बैठकले मिति २०७६।११।२४ को एकिकरण सम्बन्धि आधार पत्र बमोजिम राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) वीच भएको एकिकरण निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) वीच भएको मिति २०७६।११।२४ को एकिकरण सम्बन्धि आधार पत्र बमोजिम पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने तथा साविक राप्रपाको विधान एकिकृत पार्टीको अन्तरिम विधान हुने सहमति भएको हुँदा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गर्दाको बखत पेश भएको विधान र प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन २०७४ मा पेश भएको राजनैतिक घोषणा पत्रलाई एकिकरण पश्चातको राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तरिम विधान र घोषणापत्र कायम गरी त्यसको जानकारी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै बैठकले महाधिबेशन सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिबेशन २०७८ बैशाख २५ देखि २८ सम्म काठमाण्डौमा निर्णय गरेको छ । बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी दर्ता सम्बन्धि सम्पूर्ण काम कारवाही गरि दल दर्ता गरी ल्याउनको लागि नेता दिपक बोहोरा, बरिष्ठ अधिवक्ता एवं केन्द्रीय सदस्य राजु बस्नेत, केन्द्रीय सदस्य धुव्र बहादुर प्रधान, केन्द्रीय सदस्य रामशरण पाठकलाई अख्तियारी प्रदान गरेको छ ।

थप जानकारी