राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

धनकुटामा राप्रपाको समायोजन सम्पन्न, कुमार थापा अध्यक्ष चयन

बिहिवार, १५ आश्विन २०७७ २०:३५

१५ असोज, धनकुटा । राप्रपा र राप्रपा संयुक्तको एकता पछि निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया चल्दै गर्दा एकताको भावना अनुरुप जिल्ला तहको समायोजन शुरु भएको छ । असोज ११ गते बसेको राप्रपाको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले जिल्ला र भातृ संगठनलाई आपसी समझदारी कायम गरि समायोजन गर्न असोज २१ गतेसम्मको समय सिमा तोकेको थियो । यस क्रममा आज धनकुटामा पार्टी समायोजन सम्पन्न भएको छ ।

पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापा र उनका छोरा सुनील बहादुर थापाको जिल्ला भनेर चिनिने धनकुटामा थापा परिवार भित्रकै कुमार बहादुर थापा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । केही समय अघि राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गरेका थापापुत्र पूर्वमन्त्री सुनिल थापालाई धनकुटाको साथ लगभग शुन्य भएको छ ।

आज भएको समायोजनबाट उपाध्यक्षमा लाक्पा टासी शेर्पा, टिका प्रसाद घिमिरे र खेमराज काफ्ले, सचिवमा दुर्गा पुरी, कोषाध्यक्ष सुवास राई र सह-सचिवमा चन्द्र मादेन र रमेश चापागाईं चयन भएका छन् । यसैगरी एक निर्वाचन क्षेत्र मात्र रहेको धनकुटाको अध्यक्ष प्रदेश (क) मा धर्मध्वज राई र प्रदेश (ख) मा श्याम गुरुङ चयन भएका छन् । धनकुटा नगर कार्य समितिको अध्यक्षमा पृथ सिंह तामाङ गोम्देन रहेका छन् । समायोजन अघि अध्यक्ष रहेका मुमाराम राई प्रमुख सल्लाहकारमा चयन भएका छन् भने नेताहरू घामलाल राई र मदन बहादुर भट्टराई सल्लाहकार चुनिएका छन् ।

पार्टी एकता हुनुअघिका दुवै तर्फका जिल्ला कार्य समितिका सदस्यहरु समायोजन पछि पनि सदस्य रहेका छन् । राप्रपाको केन्द्रीय सचिवालय कार्य व्यवस्था सचिवालयको निर्णय बमोजिम पार्टीको जिल्ला तह र भातृ संगठन समायोजनको प्रक्रिया शुरु भएको छ ।” राप्रपा नेता मोहन श्रेष्ठले भने “असोज २१ गते भित्र आपसी सहमतिका आधारमा समझदारी कायम गरि पार्टी र भातृ संगठनको समायोजन तिव्र ढंगले अघि बढिरहेको छ, समझदारी कायम हुन नसकेका जिल्लाहरुको हकमा सचिवालय कार्य व्यवस्थाको अर्को बैठकबाट केन्द्रीय प्रतिनिधि खटाइ समायोजनको नयाँ व्यवस्था गरिनेछ ।”

थप जानकारी