राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख ६, २०८१

आफ्नै देशको बाटो प्रयोग गर्दै छाङरु र तिङ्करवासी

शनिवार, १७ आश्विन २०७७ १९:३४

नारायण न्यौपाने
काठमाडौँ, असोज १७ गते। नेपाली सेनाले दार्चुला सदरमुकाम खलङ्गालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो आगामी सोमबार हस्तान्तरण गर्ने भएको छ । नेपाली सेनाले झण्डै चार महिनाको भगीरथ प्रयासपछि व्यास गाउँपालिका १ घाँटीबगरस्थित अत्यन्तै कडा र अप्ठेरो पहरो फोरेर उक्त बाटो निर्माण गरेको हो । महाकाली नदी किनारको उक्त क्षेत्रमा सेनाले पहरो फोरेर दुई मिटर चौडाइ भएको ५५० मिटर लामो बाटो निर्माण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । सो बाटो निर्माण गर्न रु एक करोड ८ लाख खर्च भएको छ । पहरो फुटाएको क्षेत्रमा सरसफाइको अन्तिम चरणको काम भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

घाँटीबगर क्षेत्र दार्चुला सदरमुकाम खलङ्गाबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ । सेनाका सुदूरपश्चि पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार उक्त बाटो हस्तान्तरण गर्ने कार्यक्रम छ । उक्त बाटो निर्माणको क्रममा नेपाली सेनाका एक जवानले वीरगति प्राप्त गरेका थिए । चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिकरुपमा परिचालन गरिएको थियो ।

महाकाली तटीय क्षेत्रको उक्त बाटो बर्सेनी वर्षात् बाढी पहिरोका कारण भत्किँदै आएको थियो । पैदल बाटोसमेत नहुँदा खलङ्गादेखि झण्डै ७२ किलोमिटरको दूरीमा रहेको छाङरु गाउँका ९० परिवार तथा तिङ्कर गाउँमा बसोबास गर्ने करीब ६० परिवारलाई बसाइँ सर्न समस्या हुँदै आएको छ । भारतीय सीमा नजिकको छाङरु गाउँ तथा तिब्बत सीमा नजिकको तिङ्कर गाउँमा शौका समूदायको बसोबास छ । उनीहरु हिउँदमा कात्तिकदेखि चैत महिनासम्म दार्चुला सदरमुकाम खलङ्गा बसाइँ सर्ने तथा हिउँ पग्लेपछि गर्मी यामको वैशाखदेखि असोजसम्म व्यास क्षेत्र उक्लिदै आएका थिए ।

झण्डै ४० वर्षअघि सो क्षेत्रमा पहिलो पटक घोडेटो बाटो निर्माण गरिएको थियो । बर्सेनी हिमपातसँगै पहिरो खस्दा बाटो अवरुद्ध हुँदै आएको थियो । त्यसैमाथि महाकालीको बाढीले बाटोको निसानै मेटाइ दिँदा त्यहाँका बासिन्दा पछिल्लो समय खलङ्गापारीको भारतीय क्षेत्र धारचुलाहुँदै भारतकै बाटो प्रयोग गरी पैदल छाङरु र तिङ्कर आवतजावत गर्न बाध्य थिए । बजेट अभावसँगै पहरा फुटाउन पर्याप्त जनशक्ति जुटाउन नसक्दा शौका समुदाय निकै दुःख गरेर बर्सेनी कुञ्चा (बसाइँ सर्नु) जाने गरेको थियो । नेपाली सेनाले पहरो फाडेर बाटो बनाएपछि अब शौका समुदायलाई आफ्नै नेपाली भूमि भएर गाउँ फर्कन सहज भएको छ ।

यस वर्ष कोरोना भाइरसको महामारीका कारण व्यास बसाइँ सर्न शौका समुदायले अत्यन्त कष्ट भोग्नुपरेको थियो । वैशाख पहिलो साता गाईवस्तुसहित जहान बालबच्चा डो¥याउँदै भारतीय बाटो हुँदै छाङरु र तिङ्कर जान खोजे पनि भारतले कोरोनाको कारण देखाउँदै आफ्नो बाटो प्रयोग गर्न दिएन । भारतले सीमा बन्द गरेका कारण गाउँ फर्किन एक महिना ढिला भएको छाङ्रुका ललितसिंह बोहराले बताउनुभयो । सेनाले बाटो निर्माण गरेका कारण अब भारतीय बाटो हिँड्ने बाध्यता हटेको उहाँ बताउनहुन्छ । घोडेटो बाटो मात्र होइन अब चाँडै छाङरु र तिङ्कर जोड्ने महाकाली करिडोरको सडक पनि सेनाले निर्माण गर्ने भएकाले बस चढेर गाउँ आवतजावत गर्न पाइनेमा बोहरा आशावादी हुनुहुन्छ । घाँटीबगरको खोंचमा सेनाले क्याम्प नै खडा गरेर बाटो निर्माण गरेको हो ।

पैदल बाटो नहुँदा स्थानीय बासिन्दाले मात्र होइन छाङरु र तिङ्करमा सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले हेलिकप्टर प्रयोग गर्नुपरेको थियो । अब बाटो निर्माण भएसँगै सुरक्षाकर्मीलाई पनि उक्त क्षेत्रमा आवतजावत गर्न सहज भएको छ । अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरीको गुल्मसमेत राखिएको छ । बाटो नभएकै कारण स्थानीय बासिन्दाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि दार्चुला सदरमुकामदेखि हेलिकोप्टरमा खाद्यान्न ढुवानी गर्नुपरेको थियो ।

शौका समुदायलाई गाउँ फर्किन कठिनाई भएपछि सरकारले सो क्षेत्रमा बाटो बनाउने जिम्मेवारी नेपाली सेनालाई सुम्पेको थियो । जेठ दोस्रो साता तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरिएको उक्त बाटो निर्माणको काम वर्षात्का कारण केही समय प्रभावित भएको थियो । अब लगत्तै नेपाली सेनाले महाकाली करिडोरको सडक निर्माण थाल्नेछ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद पोख्रेलले उक्त क्षेत्रमा घोडेटो बाटो निर्माण भएकाले स्थानीयवासीका साथै व्यासमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीलाई आवतजावत गर्न सहज हुने बताउनुभयो । (रासस)

थप जानकारी