राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

घरभित्रै दशैँ मनाउन प्रशासनको अनुरोध

बुधवार, २८ आश्विन २०७७ १२:५३

चितवन, असोज २८ गते । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा जिल्लावासीलाई १४ बुँदे सुझाव दिइएको छ । जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार ७६४ नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९७ पुगेको भन्दै अत्यन्तै सावधानी अपनाउन अनुरोध गरिएको छ ।

धार्मिकस्थलमा धर्म परम्परालाई निरन्तरता दिई नित्य पूजाअर्चना मात्र गर्न, दशैँमा फूलपाती भित्र्याउने काम साङ्केतिकरूपमा गर्न, खेलकूदका कार्यक्रम, जात्रा, मेला तथा उत्सव नगर्न प्रशासनको आग्रह छ । अवैध मदिरा उत्पादन, बिक्री वितरण तथा उपभोग नगर्न, मादकपदार्थ सेवन गरी होहल्ला नगर्न, तीव्रगतिमा सवारी साधन नचलाउन, गुणस्तरहीन उपभोग्य वस्तु बिक्री वितरण नगर्न, कृत्रिम अभाव सिर्जना गरी कालोबजारी नगर्न, जुवातास र गैरकानूनी चिठ्ठा कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन पनि अनुरोध गरिएको छ ।

यस्तै दशैँ, तिहार तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान, देउसीभैलोलगायत कुनै पनि कार्यक्रम नगर्न सूचनामा अनुरोध गरिएको छ । यस्तै पटका, आतिसबाजीलगायत विष्फोटक वस्तु प्रयोग नगर्न, ध्वनि प्रदूषण, चन्दा सङ्कलन नगरी आपसी सद्भाव कायम गर्न सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरिएको छ । प्रशासनले १२ वर्षभन्दा कमका बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धा तथा जटिल प्रकारका स्वास्थ्य समस्या भएका मानिसलाई घरबाहिर हिँडडुल नगर्न हिँड्नै परे सम्पूर्ण सुरक्षाको मापदण्ड अपनाउन अनुरोध गरेको छ । (रासस)

थप जानकारी