काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाणेको नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल–भारतबीच सीमा विवाद र कोरोनाभाइरस महामारी रहेकै बेला उनको नेपाल भ्रमणको तयारी थालिएको हो ।
गत मे मा भएको सीमा विवादका क्रममा नेपालबारे विवादास्पद अभिव्यक्ति दिएका नरभाणेलाई बोलाउन थालिएको हो । नेपालले कसैको इसारामा लिपुलेक, कालापानी, लिम्पियाधुरालाई समेटेर नक्सा पास गर्दै सीमा विवादको मुद्दा उचालेको बताएका थिए ।
राजनीति सम्बन्ध चिसोपना देखिने नेपाल–भारत सेनाबीचको सम्बन्ध भने सुमधुर रहने गरेको बताइन्छ । दुवै देशका सेना प्रमुख आउने जाने भइरहने गरेको छ ।
तर, सेनाको मुलुकको भौलिक अखण्डताको रक्षार्थ खट्नुपर्ने प्रमुख दायित्व मानिन्छ । गत मेमा उत्कर्षमा पुगेको सीमा विवाद सुल्झिसकेको छैन । भारतीय पक्ष वार्तामा बस्न नमानेको नेपालको आरोप छ । तर, यही बेला भारतीय सेनाध्यक्ष नरभाणेको नेपाल भ्रमण तयारी थालिएको हो ।
दुवै देशका सेना प्रमुखलाई नेपाल र भारतमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन रहेको छ । सोही सम्मान ग्रहण गर्न सेनाध्यक्ष नरभाणे नेपाल आउन लागेका हुन् ।
नेपाली सेनाले आउँदो कात्तिकमा नरभाणेलाई नेपाल आउने गरी औपचारिक रुपमा निम्तो पठाउने तयारी गरेको छ । यसका लागि सेनाले भारतीय सेनासँग अनौपचारिक रुपमा कुराकानी गरिरहेको छ ।