राष्ट्र हितमा समर्पित
बिहिवार, मंसिर १८, २०७७

अस्पतालको शैयाबाट राप्रपा नेता एवं चलचित्रकर्मी प्रदिप उदयको दशैं–शुभकामना

सोमवार, १० कार्तिक २०७७ ९:०४

काठमाडौं । ग्राण्डी अस्पतालमा उपचाररत राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं कलाकर्मी प्रदीप उदयले अस्पतालको शैयाबाट नै सबैलाई दशैंको शुभकामना व्यक्त गरेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि हाल उनी ग्राण्डी अस्पतालमा उपचाररत छन । उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जानकारी दिदैआज विजया दशमीको मुख्य दिन सबैमा शुभकमना व्यक्त गरेका छन ।

उनले लेखेका छन– ‘आहा आज त दशैं पो । कति हतार हुन्थ्यो बिहानीपख घरमा, पुजा, दशैंको टिका, जमराको तयारी, बिहानै नुवाई धुवाई । नयाँ नाना लगाउने, मिठो खाने, ठुलाबाट आशिर्वाद लिने, सानालाई आशिर्वाद दिँदै जाने तल सानो बच्चासम्मलाई ।’

‘तर झल्याँस्स भएँ, उदयले अगाडि लेखेका छन —‘ ग्रान्डी अस्पतालको चौधौं तल्लाबाट परबाट झुल्कन लागेको घामको किरण नियालिरहेको छु । आशाको किरणको रूपमा बुझिरहेको छु । तर अचानक च्वास्स नमिठो अनगिन्ती सुईको चुभन । फेरि झल्याँस्स हुन्छु, यहि त हो मेरो लागि यसपटकको दशैंको आशिर्वाद, सुईको पीडादायी चुभनलाई स्वास्थ्य हुनको लागि आशिर्वाद ।’

‘ओहो, आज त दशैं पो । नाना लगाएको छु,अस्पतालबाट उपलव्ध एक सरो, तर पनि सम्झेको छु यसपटक यसै भयो अर्को पटक धुमधाम मनाउँला । चौधौ तल्लाबाट पारी क्षितिजबाट झुल्केको घामले त्यही बुझाउँदै छ, सम्झाउँदै छ, मन बलियो बनाएर सम्झँदै छु, बुझ्दैछु तर पनि एउटा धोको पुरा हुने भएको छ । मासु भात खान पाउने भएको छु । असत्य माथिको विजय होस् । कोरोना कहरबाट मानव जीवनले विजय प्राप्त गरोस्, यसपटकलाई यतैबाट सबैलाई शुभकामना, बिजयादशमीको ।’

थप जानकारी