राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

सांसद राजेन्द्र लिङ्देनद्वारा झापाका अस्पतालहरुको अनुगमन

बिहिवार, १३ कार्तिक २०७७ १९:२४

भद्रपुर । संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देनले आज झापाका अस्पतालको अनुगमन गरी बिरामीले उपचारका लागि अस्पताल चहार्दाचहार्दै मृत्युको मुखमा पुग्ने अवस्था आउन नदिन सञ्चालकलाई आग्रह गरेका छन् ।

राप्रपाका पूर्वमहामन्त्री लिङ्देनले कोरोनाको बहानामा अस्पतालले उपचार नगरी बिरामी फर्काउने गरेको र त्यसकै कारण अस्पताल चहार्दाचहार्दै मृत्युवरण गर्नुपर्ने दुःखद् अवस्था आएको जनगुनासो आएका कारण आफू अनुगमनमा निस्किनुपरेको बताए ।

कोभिड –१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएर स्वास्थ्यकर्मीले दिएको योगदान प्रशंसनीय रहेको बताउँदै सांसद् लिङ्देनले सरकारी पक्षबाट अस्पतालको नियमित अनुगमन हुनुपर्ने सुझाव दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित एक मात्र सदस्य लिङ्देनले भद्रपुरको मेची प्रादेशिक अस्पतालबाट अनुगमन शुरु गरेका थिए । त्यसपछि भद्रपुरकै ओमसाई पाथीभरा हस्पिटल र बिर्तामोडको बिएन्डसी हस्पिटलको पनि उनले अनुगमन गरे ।

मेची प्रादेशिक अस्पतालको अनुुगमन क्रममा सांसद् लिङ्देनले सुपरिन्टेन्डेन्ट डा पीताम्बर ठाकुरसँग सञ्चालन भइरहेको कोभिड हस्पिटलको अवस्था र समस्याका बारेमा जानकारी लिए । डा ठाकुरले कोभिड र कोभिड नभएका सबै किसिमका बिरामीको उपचार भइरहेको जनाउँदै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले लामो समयदेखि सरकारले तोकेबमोजिमको भत्ता सुविधा नपाएको अवगत गराए ।

सांसद् लिङ्देनले बिएन्डसी हस्पिटलमा उपचारका लागि आएका सर्वसाधारण र कार्यकारी प्रमुख दुर्गा प्रसाईँलाई भेटेर त्यहाँबाट प्रवाह भइरहेको उपचार सेवाका बारेमा जानकारी लिए । कार्यकारी प्रमुख प्रसाईँले निजी हस्पिटलहरुले कोभिड बिरामीलाई उपचार सेवा प्रदान गरेर महामारीविरुद्धको अभियानमा ठूलो टेवा पुर्‍याएको बताए ।

आफ्नो हस्पिटलबाट कोभिडका बिरामी कसैलाई पनि नफर्काइएको र छुट्टै राखेर उपचार गरिएको जानकारी गराउँदै उनलेही दिनमा पिसिआर मेसिन राखेर सेवा प्रदान गरिने बताए । ओमसाई हस्पिटलका निर्देशक बालकुमार पोखरेलले जनप्रतिनिधिद्वारा अस्पतालको अनुगमन भएकामा खुशी व्यक्त गर्दै कोभिडविरुद्धको अभियानमा सबै जुट्नुपर्नेमा जोड दिए ।

थप जानकारी