राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

अब राजतन्त्र फर्कन सक्दैनः मुख्यमन्त्री गुरुङ

मङ्गलवार, ३० मंसिर २०७७ १८:३५

गलकोट, मङ्सिर ३० गते। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजवादीको आन्दोलनले राजतन्त्र नर्फकने दाबी गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको १२ औँ वार्षिक साधारणसभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोद्धन गर्दै उहाँले गइसकेको राजतन्त्र ल्याउँछु भन्ने कुरा विद्युत्को विकल्पमा अगुल्टो खोज्नुजस्तै भएको बताउनुभयो ।

“हटिसकेको राजतन्त्र ल्याउँछु भन्नु र घाम खस्छ भन्नु उस्तै उस्तै हो”, मुख्यमन्त्री गुरुङले भन्नुभयो । उहाँले कोरोना सङ्क्रमणले समस्या मात्रै हैन, अवसरसमेत प्रदान गरेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति गराउन कोरोनाले अवसरसमेत दिलाएको बताउनुभयो । “कोरोनाले अत्यन्तै समस्या ल्यायो, हामी सबैलाई निराससमेत बनायो”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “कोरोनापछि स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल हुनेछ, अस्पताल निर्माण हुनेछन्, आगामी दिनमा थाल खानेकी भात खानेको अवस्था आउनेछैन ।”

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले जनतालाई छिटोभन्दा छिटो विकास दिन खोजेको भन्दै विकास र सुशासनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । तीन तले सो भवन रु एक करोड पाँच लाखको लागतमा निर्माण भएको हो । महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । (रासस)

थप जानकारी