राष्ट्र हितमा समर्पित
शुक्रवार, फागुन २१, २०७७

विवादास्पद र अनावश्यक अध्यादेश तुरुन्त फिर्ता गरियोस् : राप्रपा

बुधवार, १ पौष २०७७ १६:५७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विवादास्पद र अनावश्यक अध्यादेश तुरुन्त फिर्ता गर्न माग गरेको छ ।राप्रपाका कमल थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको बैठकले संवैधानिक परिषदको उपादेयता समाप्त भएको भन्दै
अध्यादेश तुरुन्त फिर्ता गर्न माग गरेको हो ।

राप्रपाले संवैधानिक परिषद सम्वन्धि अध्यादेश जारी गर्ने प्रक्रिया र अध्यादेशको विषयवस्तु दुवैले संविधानको चिरहरण गरेको, संविधानको मर्म र भावनामाथि गम्भीर प्रहार गरेको भन्दै सर्वसत्तावादी र अलोकतान्त्रिक कार्यको विरोध र भत्सर्ना गरेको छ ।

अध्यादेश प्रकरणमा संविधानको संरक्षण र पालना गर्नुपर्ने निकाय र पदाधिकारीहरु गैरजिम्मेवार सावित भएका र भागवण्डा नमिलेर प्रतिपक्षी दलका नेता संवैधानिक परिषदको बैठकमा नजानु, निहित गुटगत राजनीतिको प्रभावमा परेर सभामुख पनि बैठकमा नजानु, उनीहरुको अनुपस्थितिलाई बहाना बनाएर प्रधानमन्त्रीले अध्यादेश ल्याउनु, अध्यादेशका बारेमा आवश्यक न्युनतम ध्यानसम्म नदिई द्रुतगतिमा राष्ट्रपतिले जारी गर्नु तथा संविधानको भावना विपरीत आएको अध्यादेशलाई प्रधानन्यायाधीशले परोक्ष रुपमा समर्थन जनाउनुले वर्तमान पद्धति र व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह खडा गरेको राप्रपाको ठहर छ ।

साथै राप्रपाले किसानले रगत पसिना बगाएर कमाएको रकम मिल मालिकहरुले भुक्तानी नदिनु दूर्भाग्यपूर्ण भएको भन्दै वर्षाैंदेखि आन्दोलित किसानहरुको पेट भर्ने समस्यासँग सम्बन्धित जटिल विषयलाई वेवास्ता गर्ने, श्रमिक र किसानहरुको हित गर्छु भन्ने सरकारको व्यवहारप्रति भत्सर्ना र खेद प्रकट गरेको छ।

बैठकमा अध्यक्षद्वय श्री पशुपतिशम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको थियो ।

थप जानकारी