राष्ट्र हितमा समर्पित
बुधवार, माघ १४, २०७७

राजसंस्थाको पक्षमा राप्रपाद्वारा ललितपुरमा प्रदर्शन

शुक्रवार, ३ पौष २०७७ १७:२१

३ पौष, काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको लागि संघर्षको घोषणा गरेको राप्रपाले आज ललितपुरमा प्रदर्शन गरेको छ । कुपोन्डोलबाट शुरु भएको मोटरसाइकल र्‍याली पुल्चोक, जावलाखेल, कुमारीपाटी, मंगलबजार हुँदै लगनखेल पुगेर सभामा परिणत भएको थियो ।

महंगी, बेरोजगारी समस्या, भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, संगठित र योजनाबद्ध धर्म परिवर्तनमा सरकारको असफलता र उदासीनताको विरोधमा र हिन्दु राष्ट्र, राजसंस्थाको पक्षमा राप्रपाले प्रदर्शन गरेको सो पार्टीका केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिका सदस्य नेता श्याम तिमल्सिनाले बताए ।

राप्रपा ललितपुरको आयोजनामा भएको प्रदर्शनका क्रममा “जनता आऊ, राजा ल्याऊँ, देश बचाऔं, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गरौं, धर्म संस्कृति मास्न पाइदैन, जनताको परिवर्तनको चाहनालाई स्विकार गर, देशको सिमाको रक्षा गर, भ्रष्टाचारीलाई कारबाही गर, विदेशी हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं जस्ता नारा लगाउँदै शहर परिक्रमा गरेको थियो ।

लगनखेलमा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा नेताहरूले जनताको स्वस्फूर्त प्रदर्शनलाई लाञ्छना लगाउने, कमजोर साबित गर्न खोज्ने तत्वलाई जनताले पराजित गरिछाड्ने बताए । नेता तिमल्सिनाले नेपाल यतिखेर परिवर्तनको संघारमा रहेको, जनतामा परिवर्तनको तिव्र चाहना देखिएको र राप्रपा जनआवाजलालाई संश्लेषण गरेर अघि बढिरहेको बताएका छन् । उनले जनताको तागतका अगाडि संसारका ठूला ठूला शक्ति पनि निरीह भएको दृष्टानत दिदै नेपाली जनताको तागतलाई कमजोर नठान्न सरकार, सत्तासीन दल र गणतन्त्र पक्षधर शक्तिलाई आग्रह गरेका छन् ।

नेता रोशन कार्कीले संगठित र योजनाबद्ध धर्म परिवर्तनले नेपालको पहिचान र राष्ट्रियता संकटमा पर्दै गएको र यो धर्म निरपेक्षताकै दुष्परिणाम भएकाले नेपाली जनता जागरुक भइ कोर्स करेक्सनको दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएकी छिन् । अर्का केन्द्रीय सदस्य निरञ्जन विक्रम थापाले राजसंस्थाको पक्षमा हाल देशभर भइरहेको प्रदर्शनमा युवाको उल्लेख्य सहभागीता देखिनु सकारात्मक भएको र युवाको स्वस्फूर्त आवाजलाई बेलैमा सम्बोधन गर्न आग्रह गरेका छन् ।

थप जानकारी