काठमाडौं । संसद विघटन विरुद्धको रिटमाथि भइरहेको सुनुवाईमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहसको क्रममा `न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गीतको जवाफमा ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ एउटा गीतको बोल सुनाएका छन् । संसद विघटनका सम्बन्धमा सरकारका तर्फबाट बहस गरिरहेका खरेलले उक्त गीतको बोललाई रिट निवेदकहरुको जिकिरसँग तुलना गर्दै सुनाएका हुन् ।
‘बाबुआमाले आफ्नो छोरालाई हुर्काइ–बढाइ गरेर विवाहका लागि योग्य बनाउँछ तर उसले यो गीतको बोलझैं आफूले मन पराएको त्यही केटी चाहिन्छ भनेर जिद्दी गरेजस्तो उहाँहरुलाई त्यही प्रतिनिधिसभा किन चाहिएको हो ?’ उनले भने, ‘ताजा जनादेशमा गएर अर्को प्रतिनिधिसभा गठन गर्न किन नमिल्ने ?’
महान्यायाधिवक्ता खरेलले गत माघ १४ गते इजलासमा निवेदकका पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अञ्जु पन्तको गीत ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गीत सुनाएर सरकारलाई प्रश्न गरेको सन्दर्भमा मंगलबार ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ बोलको गीत सुनाएर जवाफ दिएका हुन् ।
वरिष्ठ अधिवक्ता घिमिरेले तत्कालीन माओवादीहरु शान्ति प्रक्रियामा आएर संविधानसभाको दुईवटा निर्वाचनपछि संविधान बनाएर मुलुकलाई शान्ति र स्थायित्वको दिशामा अघि बढाइएको भए पनि त्यत्रो मेहनत गरेर बनाएको संविधान र त्यसबाट प्राप्त उपलब्धि मेट्ने प्रयासस्वरुप प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरेका थिए ।
महान्यायाधिवक्ता खरेलले भने सो गीतको मर्म नै नबुझी इजलासमा त्यसलाई उद्धृत गरिएको तर्क गरे ।महान्यायाधिवक्ता खरेलले मंगलबार आफ्नो बहस टुङ्ग्याएका छन् ।