राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ३, २०७८

महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन : सभापति देउवा

सोमवार, २४ फागुन २०७७ १३:०३

काठमाडौँ, फागुन २४ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्नुभएको छ । “शहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो । हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो । हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो”, उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि भएको बताउँदै सभापति देउवाले कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहने र महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्‍याउनेछ भन्ने विश्वास लिनुभएको छ ।

पार्टी तथा राज्यका हरेक तहमा महिलाको उचित प्रतिनिधित्व र सहभागिता रहनु पर्दछ भन्नेमा कांग्रेस विश्वास राख्ने बताउँदै उहाँले आफ्नो पार्टीको आफ्नो विधानमा वडादेखि केन्द्रसम्मका सबै तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको कांग्रेसले सुनिश्चितता गरेको जानकारी गराउनुभएको छ ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनहरूमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीहरूले आफ्नो प्राणको आहुति दिनुभएको उल्लेख गर्दै सभपाति देउवाले उहाँहरूप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र संवद्र्धनका लागि पनि महिलाको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने सभापति देउवाले विश्वास व्यक्त गर्नुभएको छ । (रासस)

थप जानकारी