राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ३, २०७८

काठमाडौंमा उच्च वायुप्रदूषण:आइतबारसम्म मौसम स्थिर रहने

शनिवार, १४ चैत्र २०७७ १३:४३

काठमाडौँ, चैत १४ गते । शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको हो ।

आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारदेखि केही बादल विकसित भई हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना छ ।
विभागका अनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन-चट्याङसहित फाट्टफुट्ट तथा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव ९ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस छ । (रासस)

थप जानकारी