काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सक्रिय सदस्यता वितरणको म्याद थप गरेको छ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले २०७८ वैशाखमा हुने महाधिवेशनलाई लक्षित गर्दै पार्टीको सक्रिय सदस्य बनाउने म्याद २०७७ चैत्र मसान्तसम्म थप्ने निर्णय गरेको हो।
त्यस्तै बैठकले नेता निरञ्जन थापाको संयोजकत्वमा हरिनारायण यादव, कुन्तीकुमारी शाही, रामशरण पाठक, वरिष्ठ अधिवक्ता राजु वस्नेत, अधिवक्ता चन्द्र काफ्ले र केपी पाण्डे सदस्य रहेको विधान संशोधन सुझाव समिति गठन गरेको छ ।
आगामी २०७८ वैशाख २५ देखि २८ गतेसम्म हुने पार्टीको केन्द्रीय महाधिवेशनको सन्दर्भमा स्थानीय तहको समितिहरुको गठन कार्य निर्धारित समयमा पुरा गर्न तथा सक्रिय सदस्यता वितरण कार्यलाई तिव्रता दिन प्रदेश कार्य समिति र सचिवालयलाई निर्देशन दिने निर्णय भएको छ ।